आईजीपी विवादमा सुनुवाइ सुरु

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १२ : ५६
आईजीपी विवादमा सुनुवाइ सुरु

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन् । 

यसअघि, गत ५ गते विश्वराज पोखरेल पक्षको बहस गरेका थिए । आज, आईजीपी धीरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका छन् । आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा पाँचौँपटक सुनुवाइ भइरहेको हो । कामु प्रधानन्यायाधीश कार्कीसहितको इजलासमा यो तेस्रो बहस हो । 

वैशाख २२ मा प्रारम्भिक सुनुवाइ भएको यो मुद्दामा यसअघि जेठ १७मा दोस्रोपटक सुनुवाइ भएको थियो । प्रारम्भिक सुनुवाइमै रिटलाई अग्राधिकार दिँदै पेशी दुवै पक्षले सार्न नमिल्ने र लगातार सुनुवाइ गरी अन्तिम फैसला दिने भनिए पनि मुद्दामा ढिलाइ भइरहेको छ । ३० गते यता हेर्दाहेर्दैमा राखिएको मुद्दामा सुरुमा पाँच दिन र त्यसपछि ८ दिन समय राखेर सुनुवाइको क्रम सुरु भए पनि सरकारी पक्षको दाबीका कारण सुनुवाइ ढिला हुने अनुमान सुरु भएको छ । 

महान्यायाधीवक्ता कार्यालयका एक सह–न्यायाधिवक्ताले आईजीपी विवादमा अब सुनुवाइ लामो समयसम्म जाने र विश्वराव पोखरेल फैसला नआउँदै पूर्वडीआईजी ईश्वरबाबु कार्कीसहितजस्तै घर जाने बताएका थिए । सर्वोच्चबाटै अग्राधिकार दिइएको मुद्दामा भइरहेको सुनुवाइको प्रक्रियापछि पोखरेल पक्षलाई न्याय नपाइने हो कि भन्ने चिन्ता जाहेर गर्न थालेको छ । 

वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर १६ महिना सिनियर डीआईजी पोखरेललाई पन्छाउँदै एआईजी बढुवामै विवादित बनेका धीरजप्रताप सिंहलाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेका कारण पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । 

आईजीपी नियुक्ति विवाद र एआईजी बढुवाविरुद्ध पूर्वडीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिट लगाउमा राखेर सुनुवाइ भइरहेको छ । एआईजीविरुद्ध परेको रिटको सुनुवाइ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस