काठमाडौं । मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने निर्णय भएको छ ।
यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय पनि भएको छ ।आन्दोलन परिचालन समितिको बैठकले असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गरिने राप्रपाले जनाएको छ ।
असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पाठ्यपुस्तक अभाव हटाउन माग गर्दै जनक शिक्षा सामग्री केन्द्रमा र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गराउन माग गर्दै उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।
यसैगरी असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिइने राप्रपाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १२ : १२
लेखकबाट थप