उपेन्द्र यादवलाई पार्टी एकढिक्का राख्न किरातीको आग्रह

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, २२ : २०
उपेन्द्र यादवलाई पार्टी एकढिक्का राख्न किरातीको आग्रह

काठमाडौँ । जनता समाजवादी पार्टीका युवानेता तथा लेखक मिलनकान्छा किरातीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग भेटेर पार्टी एकता जोगाउन आग्रह गरेको बत्ताएका छन् । युथ रिडर्स नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रममा अध्यक्ष यादवसँगको भेटमा यादवद्धारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तक प्राप्त गरेको तस्बिरसमेत साझागर्दै किरातीले उक्त कुरा बत्ताएका हुन् ।

उनले भने, ‘हाम्रो अध्यक्षकृत यो पुस्तक पठनीय छ, समाजवादी लोकतन्त्र नेपालको सन्दर्भमा के हो त ? पुस्तकभित्र अनेक आयमका मुभमेन्ट, लिगेसी र सिस्टमका बारेमा उल्लेख रहेछन् । मैले पनि डिटेल हेर्न बाँकी छ । सबैले पाए भ्याएसम्म हेर्नुहोला ।’ 
जसपा फुट्न लागेको हो ? भन्ने जिज्ञासामा किरातीले भने, ‘ जसपा फुट्दैन । जसपा किन फुट्ने ? डा.सा’पलाई कार्यकारी अध्यक्ष पद नै चाहिएको हो भने  उपेन्द्र यादव ज्युले अध्यक्ष पद छाड्न तयार छु भन्नुभएको छ । त्यसको लागि महाधिवेशन गरेर एउटा विधि प्रक्रियाबाट टुङ्ग्याउनु पर्ने होला नि ?  चित्त नबुझेको कुरा भए बैठक बस्नु प¥यो । बैठकमा राख्नु प¥यो । समाधान निस्किहाल्छ । बाहिर–बाहिर हल्ला गर्दै हिड्नु ठीक भएन ।’ यसबारे डा.सा’पलाई पनि भेटेर कुरा राख्नेछु ।’

एकघण्टा लामो कुराकानीको क्रममा पार्टी सङ्गठन र आगामी प्रदेश, सङ्घको निर्वाचनबारे पनि कुरा भएको र जसपाले चाँडै विदेशिएका पचासौँ लाख युवालाई स्वदेश फर्काउन उद्यम, उत्पादन, शीप, तालिम र रोजगारीको वृहत्तर प्लेटफर्म तयार गर्नेबारे पनि अध्यक्ष उपेन्द्र यादवसँग सकरात्मक छलफल भएको किरातीले बत्ताए ।

प्रतिक्रिया दिनुहोस