मन्त्रीहरू मन्त्रीको ‘लेवल’मै हुनु हुन्न, विनियोजनका कार्यक्रम कपिपेस्ट गरिएको छ : भट्टराई

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १५ : १६
मन्त्रीहरू मन्त्रीको ‘लेवल’मै हुनु हुन्न, विनियोजनका कार्यक्रम कपिपेस्ट गरिएको छ : भट्टराई

काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक खिमलाल भट्टराईले विनियोजन विधेयकमा नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकता एवं बजेटबीच तादम्यता नभएको बताएका छन् ।

आजको राष्ट्रियसभा बैठकमा उनले नीति तथा कार्यक्रममा विकासको प्याकेज ल्याइए पनि विनियोजन नदेखिएको बताए । “सरकारले तीनवटा कुरामा विकासको विशेष प्याकेज ल्याउँछ भन्ने लागेको थियो । नीति कार्यक्रममा एकदम राम्रोसँग लिएर आयो । तर, बजेट विनियोजनका शीर्षक हेर्दा त्यो त बिर्सिएको जस्तो देखियो,” उनले भने, “त्यो त केही नै छैन भन्दा हुन्छ । लुम्बिनी, पशुपति, जनकपुरलाई विशेष पर्यटकीयस्थलको रूपमा विकास गर्ने भनेर भनियो । यो धेरै राम्रो काम हो । यी गर्नैपर्ने कुरा हो । तर, बजेट, विनियोजन शीर्षक हेर्दा त्यो छैन ।”सरकारका मन्त्रीहरूको ‘लेवल’ नदेखिएको उनको भनाइ छ । मन्त्रीहरू आफैँले विनियोजन विधेयकका कार्यक्रम नपढेको आरोप समेत उनले लगाए ।

“मन्त्रीज्यूहरू मन्त्रीको लेवलमा नै हुनु हुन्न । उहाँहरूले आफ्नो विनियोजनको कार्यक्रम एकचोटि पनि पढ्नुभएको छैन । राम्रो तयारी गरेको भए प्रोगामहरूको कपिपेस्ट हुने नै थिएन,” भट्टराईले भने ।उनले सकिएका कार्यक्रमहरूमा पनि बजेट छुट्ट्याइदिएको बताए । भट्टराईले भने, “यति कपिपेस्ट छ, प्रोगामहरूको कार्यक्रम सकिसकेको छ, बजेट हाल्दिनुभएको छ । मन्त्रीहरू केमा लाग्नुहुन्छ ?”उनले मन्त्रीहरूको कुनै भिजन नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस