चितवन । चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका ६ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ ६ लेन र बाइपास सडकका मुख्य ६ स्थानमा लाइट जडान गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले ट्राफिक लाइट जडान गर्ने गर्दछ ।
शाखाका प्रमुख राकेश महर्जनका अनुसार ६ लेन सडकको पुलचोक, सहिदचोक, चौबिसकोठी, हाकीमचोक र केन्द्रीय बसपार्क चोकमा लाइट जडान गरिँदैछ । त्यस्तै बाइपास सडकको मालपोत चोकमा लाइट राखिनेछ ।
शाखाले अध्ययन गरी सरोकारवालासँग छलफल गरेर बोलपत्रको तयारीमा लागेको उनले जानकारी दिए । यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्नेगरी काम अघि बढेको उनको भनाइ छ ।
भरतपुरमा मात्र एक करोड ५० लाखको हाराहारीमा खर्च लाग्ने अनुमान छ । शाखाले भरतपुर र वीरेन्द्र नगरमा सँगसँगै लाइट जडान गर्ने तयारी गरेको छ । यसअघि पोखरा र नेपालगञ्जका पाँच/पाँच स्थानमा लाइट जडान गरेको थियो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिभिजन सडक र ट्राफिक प्रहरी कार्यालयसँग हुने छलफलमा मुख्य चोकमा ट्राफिक लाइट जडानका लागि पहल गर्दै आएको बताइन् । सडक विस्तारका क्रममा रहेकाले ढिलागरी काम हुन लागेको उनको भनाइ छ ।
लाइट जडानपछि सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको दाहालले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १० : ३८
लेखकबाट थप