किन तत्कालै चलेन राज्यमन्त्री वलीमाथि कारबाही प्रक्रिया ?

पत्रपत्रिकाबाट

विहीबार, ०२ असार २०७९, ०७ : ५०
किन तत्कालै चलेन राज्यमन्त्री वलीमाथि कारबाही प्रक्रिया ?

काठमाडौं । तुलसीपुरकी एक महिला र नाबालिकालाई कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई मंगलबार मध्यराति बुटवल पुर्‍याइयो। जिल्ला प्रशासन कार्यालय दाङमा राखिएकी बिमलालाई मुख्यमन्त्री कुलप्रसालद केसीको निर्देशनमा रातारात बुटवल पुर्याईएको स्रोत बताउँछ। प्रदेश सरकार स्रोतकै अनुसार वली पक्राउ परेकै दिन मंगलबार मुख्यमन्त्री केसीले वलीलाई बुटवलमा ल्याइने बताएका थिए।  

सोही आधारमा स्थानीय प्रशासनले राज्यमन्त्री वलीलाई ‘प्रहरी निगरानी’ मा रहने गरी वलीलाई बुटवल पठाइएको जनाउँछ। ‘उहाँ ९वली० लाई प्रहरी निगरानीमै रहने गरि बुटवल पठाईएको हो,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने ‘आवश्यक परेको बेला प्रहरीले उहाँसंग सोधपुछ गर्छ नै।’ बुटवल पुर्याएपछि ‘बिरामी परेकी’ राज्यमन्त्री वली उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा भर्ना भइन्। उनको रक्तचाप र सुगरको मात्रा बढी देखिएको अस्पतालले जनाएको छ।  

तुलसीपुर का एकराज बस्नेतकी श्रीमती मिना र ६ वर्षीया छोरी एञ्जिलालाई घरभित्रै प्रवेश गरेर वलीले कुटपीट गरेकी राज्यमन्त्री बिमलालाई कारबाही नभएको भन्दै आलोचना भैरहेको छ। तर राज्यमन्त्री बिमलालाई नियन्त्रणमा लिने कानुनी अधिकार प्रहरीलाई अहिले छैन। संविधान तः प्रदेशसभा सदस्यलाई संसद चालु रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्न मिल्दैन।

‘प्रदेशसभा सदस्यलाई अधिवेशन बोलाईएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन,’ संविधानमा उल्लेख छ। बुधबारदेखि यो प्रदेशको पनि बजेट अधिवेशन सुरु भएको छ। फलतः राज्यमन्त्री बिमलामाथि संविधानको यो बुँदाले तत्काल कारवाही गर्ने अधिकार प्रहरीलाई दिँदैन। ‘संसद अधिवेशन चालु रहेको अवस्थामा प्रदेशसभा सदस्यलाई पक्राउ गर्न नपाउने भन्ने संविधानमा स्पष्ट छ,’ प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठले भने।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस