काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन गरेका उम्मेदवारहरूले विकास निर्माणभन्दा पनि सुशासनलाई मुख्य एजेन्डा बनाएको पाइएको छ ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका उम्मेदवारहरूले सार्वजनिक गरेको प्रतिबद्धताअनुसार विकास निर्माणभन्दा सुशासनको मुद्दा प्राथमिकतामा देखिएको छ ।
गत २०७४ को निर्वाचनमा अधिकांश उम्मेदवारले विकास र समृद्धिको मुद्दालाई पहिलो प्राथमिकता राखेको पाइएको थियो । दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनका उम्मेदवारले भने सुशासन र छिटोछरितो सेवाप्रवाहलाई चुनावी नाराका रूपमा अघि सारेको पाइएको छ ।
काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेस नेत्री सिर्जना सिंहले सेवा र सुशासनलाई पहिलो प्राथमिकता दिएकी छन् । सेवा र सुशासन, स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा, दिगो पर्यावरण, सुरक्षित सहर, सबल र समुन्नत पूर्वाधार, संस्कृति, सम्पदा र सम्भ्यताजस्ता नारालाई उनले अघि सारेकी छन् ।
एमालेका तर्फबाट महानगरको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले पनि विकास निर्माणभन्दा सेवा प्रवाह र सुशासनलाई नै चुनावी नारा दिएका छन् । उनले ‘स्वच्छ, जीवन्त, सांस्कृतिक नगर, व्यवस्थित काठमाडौं महानगर’ नारा दिएर चुनावी प्रचारप्रसार गरिरहेका छन् । स्थापितले काठमाडौंलाई रिबिल्डिङ गर्नें घोषणासमेत गरेको पाइन्छ ।
यसअघि एमालेकै तर्फबाट विजयी बनेका विद्यासुन्दर शाक्यले महानगरमा मेट्रोरेल, मोनोरेलदेखि नो ट्राफिक जामलगायत भौतिक पूर्वाधारसँग सम्बन्धित सहरी विकासका नारा अघि सारेका थिए । निर्वाचनमा उनले १ सय १ घोषणा गरेकोमा अधिकांश घोषणा चुनावी नारामै सीमित बने ।
काठमाडौं महानगरमै स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पनि चुनावी नारामा सुशासन र सेवालाई जोड दिएका छन् । उनले आफ्नो चुनाव चिह्न भ्रष्टाचारीलाई सेलाउन ठीक हुने भन्दै नारामा नै सुशासनको विषय उठाएका छन् । उनले प्रविधिमैत्री सेवा, संस्कृति, खेलकुद, विकास निर्माण, कृषिलगायत विषयलाई पनि एजेन्डाका रूपमा अघि सारेका छन् ।
ललितपुर महानगरपालिकाका निवर्तमान प्रमुख रहेका चिरिबाबु महर्जनले नमुना महानगर बनाउन भन्दै मतको अपिल गरिरहेका छन् । उनका प्रतिद्वन्द्वी हरिकृष्ण व्यञ्जनकारले सांस्कृतिक महानगर बनाउने चुनावी नारा अघि सारेका छन् ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले डिजिटल महानगरदेखि पेन्सनसम्मको चुनावी नारा अघि सारेकी छन् । उनले निर्माणाधीन आयोजना सम्पन्न गर्ने विषयलाई पनि चुनावी नारा दिएकी छन् ।
महानगर मात्र नभएर उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवारले समेत सुशासन र सेवा प्रवाहलाई मुख्य नारा दिएको पाइन्छ । ललितपुरका वडा अध्यक्षमा उम्मेदवारी दिएका राज घिमिरेले आफ्नो जित भएमा सेवासुविधा नै नलिने घोषणा गरेका छन् । कपिलवस्तु बुद्धभूमि वडा नम्बर २ का उम्मेदवार विष्णु लम्सालले कोभिडलगायत महामारीमा ढाड देखाएर नभाग्ने घोषणा गरेका छन् । राजधानी दैनिकमा खबर छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
कीर्तिपुरमा जसपा नेपालबाट तेस्रो लिङ्गी उम्मेदवार
कीर्तिपुरको मेयरमा नेमकिपाका महर्जनको उम्मेदवारी
बझाङमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान
उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न प्रदान गरिने
उपनिर्वाचन : उम्मेदवारको नाम आज सार्बजनिक गरिने