१३८ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिन फुलकोर्टमा सिफारिस

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १२ : २७
१३८ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिन फुलकोर्टमा सिफारिस

काठमाडाैँ ।वरिष्ठ अधिवक्ता सिफारिस समितिले १३८ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न सर्वोच्च अदालतको फुलकोर्टमा सिफारिस गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा गठित सिफारिस समितिले १३८ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताका लागि  सिफारिस गरेको हो ।

नेपाल बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेलले १३८ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको लागि सिफारिस समितिले सिफारिस गरेको बताए । 'उक्त समितिले १३८ जनाको सूची सर्वोच्च अदालतमा बुझाइसकेको छ, पर्सि सर्वोच्च अदालतको फुलकोर्ट बैठकबाट उक्त सिफारिस पास हुन्छ,' पौडेलले लोकान्तरसँग भने । 

२०५१ चैत मसान्तअगाडि अधिवक्ताको लाइसेन्स लिएको, ५ वर्षसम्म निरन्तर कर चुक्ता गरेको, सर्वोच्च अदालत र उच्च अदालतमा ५० वटा मुद्दामा फैसला भएको हुनुपर्ने मापदण्ड बनाइएको थियो । २७६ जना वकिलहरू वरिष्ठ अधिवक्ताको लागि योग्य भए पनि १३८ जना मात्र सिफारिस गरिएको उनले बताए । 

'कसैको ५ वर्षसम्म निरन्तर कर चुक्ता भएको देखिएन, कसैको ५० वटा फैसला पुगेको देखिएन,' पौडेलले भने, 'त्यसकारण कतिपय साथीहरू सूचीमा पर्न सक्नु भएन ।' 

पौडेल आफैं पनि लाइसेन्स प्राप्त गरेको अवधिमा ३ महिना नपुगेको हुनाले सिफारिसमा परेका छैनन् । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईदेखि पूर्व महासचिव सुनील पोखरेलसम्मले वरिष्ठ अधिवक्ताको उपाधि पाउने भएका छन् । 

न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, प्रकाश कुमार ढुंगाना र मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उक्त सिफारिस समितिमा सदस्य छन् 

प्रतिक्रिया दिनुहोस