काठमाडौं । निर्वाचन आयोगले आज मंगलबारबाट मतपत्र ढुवानी शुरू गर्ने जनाएको छ । आयोगले पहिलो चरणमा कर्णाली प्रदेशका लागि मतपत्र ढुवानी गर्न लागेको हो । नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गर्न लागेको हो ।
गएको चैत १६ गतेबाट मतपत्र छपाइ शुरू भएको थियो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मद्रणालयमा छपाइ भइरहेको मतपत्र त्यहींबाट ढुवानी हुन लागेको हो ।
आयोगले कर्णाली प्रदेशमा हेलिकोप्टरबाट ढुवानी गर्नेछ । उपत्यकासहित १० जिल्लाको मतपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा आयोगले छपाइ सकिएका जिल्लामा मत्रपत्र ढुवानी शुरू गरेको हो ।
आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि मात्र भक्तपुर महानगर ४ र ६ को मतपत्र छपाइ शुरू गर्ने जनाएको छ । ती स्थानीय निकायको मतदाता धेरै भएका कारण मतपत्र छपाइ गर्न केही समय लाग्ने भएको छ । आयोगले १७ गतेबाट ती स्थानीय तहको मतपत्र छपाइ गर्ने व्यवस्था गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ बैशाख २०७९, ०८ : ५३
लेखकबाट थप