यातायात कार्यालय ठूलोभर्‍याङको आक्रामक गति, क्यूमा रहेका सबैको २५ गतेभित्रै पालो

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १२ : ५१
यातायात कार्यालय ठूलोभर्‍याङको आक्रामक गति, क्यूमा रहेका सबैको २५ गतेभित्रै पालो

काठमाडौं ।यातायात लाइसेन्स लिनका लागि अनलाइन फारम भरेर महिनौंदेखि पालो कुरिरहेका सेवाग्राहीलाई यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङले यही वैशाख २५ गतेभित्रमा सेवा दिइसक्ने भएको छ ।

झण्डै एक महिनादेखि अतिरिक्त सेवा दिइरहेको कार्यालयले वैशाख २५ गतेका लागि अन्तिम चरणमा सेवा दिने गरी सूचना नै प्रकाशित गरेको छ ।विशेष गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडा, मुख्यमन्त्री कार्यालय बागमती प्रदेश र यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङको पहल तथा यातायात व्यवस्था विभागको अनुमतिमा पछिल्लो समय पूर्व निर्धारित कोटाभन्दा ५ गुण बढीसम्म सेवाग्राहीलाई सेवा दिइरहेको कार्यालय प्रमुख सञ्जय थापाले लोकान्तरलाई जानकारी दिए ।

‘पहिले दिनमा २ सय जनाको कोटा थियो, हामीले त्यहीअनुसार सेवा दिइरहेका थियौं,’ कार्यालय प्रमुख थापाले भने, ‘आज (आइतवार)कै कुरा गर्ने हो भने झण्डै १ हजार जनाको बायोमेट्रिक दर्ता गरेका छौं ।’बिहान ७ बजेदेखि कार्यालय खुला गरिएको र ३ बजेसम्म राजस्व लिने गरिएको थापाले बताए । पहिले १० बजे कार्यालय खुलेर २ बजेसम्म मात्र राजस्व बुझ्ने गरिएको थियो ।

झण्डै ५२ हजार जना सेवाग्राही क्युमा रहेकोमा अब ८/१० हजार मात्र बाँकी रहेको थापाले बताए ।‘अहिले दिनमै हजार जनासम्मलाई सेवा दिइरहेका छौं,’ थापाले भने, ‘सेवाग्राहीहरू सकेसम्म बिचौलियाकोमा जानु नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’आफूहरूसँग १५ सयदेखि २००० जनासम्म क्षमताको ट्रायल सेन्टर रहेको भन्दै उनले दिनमा हजार जनालाई सहजै सेवा दिइरहेको बताए ।

उनका अनुसार ट्रायल बिहान १० बजेदेखि ४ बजेसम्म चलिरहेको छ ।राजधानीका अन्य यातायात कार्यालयले पनि सेवाग्राहीहरूलाई अतिरिक्त सेवा दिइरहेका छन् । अतिरिक्त सेवा दिनेमा यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ सबैभन्दा अग्रपंक्तिमा देखिएको छ ।कार्यालय प्रमुख थापाले अब अनलाइन फारम खुलेपछि फारम भर्नेहरूलाई तत्कालै सेवा दिने बताए ।

‘२५ गतेभित्र पहिलेदेखि क्यूमा रहेकाहरूलाई सेवा दिइसक्छौं, त्यसपछि २६ गते अनलाइन फारम भर्नेको २७ गते बायोमेट्रिक दर्ता गरेर २८ गते लिखित र २९ गते ट्रायल लिन हामी सक्षम छौं,’ कार्यालय प्रमुख थापाले भने ।यसबीचमा छुटपुट भएकालाई पनि सेवा दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस