म्याग्दीमा मकै बालीमा फौजी कीराको प्रकोप

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, १५ : ०६
म्याग्दीमा मकै बालीमा फौजी कीराको प्रकोप

काठमाडौं । लगाइएको मकै बालीमा उम्रिनेबित्तिकै फौजी कीराले नोक्सानी गरेपछि म्याग्दीका किसान समस्यामा छन् । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ ।

मकैबाली हुर्कँदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पुर्याएको गुनासो आएको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । स्थानीय तहका कृषि प्राविधिकका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भएपनि समयमै यसको रोकथाम गर्न नसकिँदा मकै बालीमा ठूलो क्षति पुगेको छ । मङ्गला गाउँपालिकाका कृषि शाखाका प्राविधिक जगत बानियाँले फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिए ।किसानले विषादीसमेत प्रयोग गरिरहे पनि नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । उन्नत जातको मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञानकेन्द्रका अनुसार फौजी कीरा नियन्त्रण गर्न विषादी छर्नुबाहेक अरू कुनै विकल्प छैन । फौजी कीराका कारण म्याग्दीको बेनी नगरपालिका तथा मालिका, मङ्गला, रघुगङ्गा र धौलागिरि गाउँपालिकाका किसानले लगाएको मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस