सिन्धुलीमा एक करोड मूल्य बराबरको काठ बरामद

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १६ : ३८
सिन्धुलीमा एक करोड मूल्य बराबरको काठ बरामद

काठमाडौं । सिन्धुलीमा ठूलो परिमाणमा सालको अवैध गोलिया काठ प्रहरीले बरामद गरेको छ। प्रहरीले अवैधरुपमा लुकाइ छिपाई जिल्ला बाहिर निकासी गर्न लागिएको अवस्थामा २ हजार २ सय ९७ क्यूफिट गोलिया काठ बरामद गरेको हो । 

हरिहरपुरगढी गाउँपालिका–१ वाग्मती नदीको किनारमा घाटगद्दीमा रहेको साल तथा अन्य जातको अवैध गोलिया काठ फेला पारी २ हजार २ सय ९७ क्यूफिट गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ। 

यो काठको मूल्य झण्डै एक करोड रुपैयाँबढी हुन आउँछ।  बरामद भएको काठमा साल जातको १ सय ८० थान गोलियाको १ हजार ५सय ४५ क्यूफिट र अन्य जातको ७१ थान गोलियाको ७ सय ९१ क्यूफिट रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (प्रहरी उपरिक्षक) विमल राज कडेलले जानकारी दिए।

‘उनका अनुसार इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले अवैध काठ बरामद गरी आवश्यक कारवाहीका लागि मरिण वन डिभिजन सिन्धुलीलाई बुझाएको छ,’ उनले भने।

स्थानीय सामुदायिक वन समूह र काठ व्यवसायी तथा कठ तस्करहरुको मिलेमतोमा यति धेरै ठूलो परिमाणमा काठ कटान गरी अवैध निकासा गर्न लागिएको हुन सक्ने प्रहरीको अनुमान छ। त्यस क्षेत्रमा यस अघिपनि अवैध काठ चोरी निकासी हुँदै आएको छ। 

उता डिभिजन वन कार्यालय मरिणका सहायक वन अधिकृत अभिमन्यु केसीले बरामद गरिएको काठका सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको बताए। अवैध काठ चोरी निकासी हुँदै गरेको भन्ने खबरका आधारमा प्रहरी र हाम्रो संयुक्त गस्ति टोलीले काठ नियन्त्रणमा लिएको हो। उक्त काठका विषयमा स्थानीय सामुदायिक वन समूह, स्थानीय व्यक्तहरुहरुसंग सोधपुछ गरी अनुसन्धान थालिएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस