काठमाडौं । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुँदै आएको पृथ्वीरामार्ग अन्तर्गत गाछेपानी–कोत्रे सडक खण्डकको मर्मत सुधारमा सधैं बेवास्ता गरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन्। पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकको अवस्थाले यहाँका स्थानीयवासी आजित छन्। सडकको धुलो खाना पकाउने भान्छा, सुत्ने बिस्तारा र कोठा कोठासम्म पुग्ने गर्दा आफूहरुको स्वास्थ्य बिग्रिदै गएको स्थानीय बताउँछन्। शुक्रबार सडक मर्मतका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गर्न १५ मिनेट राजमार्ग बन्द गराएका छन्।
बाटो स्तरोन्नति नभएसम्म आफूहरुको आन्दोलन चलिरहने संघर्ष समितिका संयोजक ठाकुर खनालले बताए। उनका अनुसार शुक्रबार कोत्रे चोकमा दिउँसो १ बजेपछि १५ मिनेट राजमार्ग बन्द गरिएको थियो। शनिबार दिउँसो साढे १ बजे शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा ३० मिनेट र आइतबार गााछेपानीमा एक घण्टा राजमार्ग बन्द गर्ने संघर्ष समितिको तयारी छ। यति गर्दा पनि मर्मत सुधारको काम सुरु नभए राजमार्ग नै ठप्प पार्ने स्थानीयले चेतावनी दिएका छन्।
आफूहरुले स्थानीय सरकार, प्रदेश सरकार र सडक डिभिजन कार्यालय सबैलाई गुहार्दा पनि समस्याको समाधान नभएपछि बाध्य भएर बन्द गर्नु परेको स्थानीय युवा शंकर पन्तले बताए। स्थानीय व्यापारी सिर्जना खनालले आफूहरुको पीडा कसैले नबुझेको गुनासो गछिन्। खनालले अहिलेको चुनावमा कुनै पनि राजनीतिक दल र पार्टी नेता भोट माग्नका लागि योग्य नभएको भन्दै गाछेपानीदेखि कोत्र क्षेत्रमै नआउन नेताहरुलाई चेतावनी दिइन्। सरकारले आफूहरुलाई पशुको जस्तो व्यवहार गरेको उनको भनाई छ।
पर्यटकीय सहर पोखरा जोड्ने सडक खण्डको यो दुरावस्था देख्दा समेत मर्मतका लागि कुनै पहल नभएकोमा पर्यटन व्यवसायीहरु पनि आक्रोशित छन्। सडक डिभिजन कार्यालय तनहुँले भने मुग्लिङ पोखरा ६ लेनको बाटो निर्माण सुरु भएको र राजमार्गको सम्पुर्ण जिम्मा निर्माण आयोजना कम्पनीलाई दिइएकाले कार्यालय केही गर्न नम्लिने बताउँदै आएको छ। यता आयोजना कम्पनीले तत्कालै काम सुरु हुन्छ भन्दै जनतालाई झुक्याउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १६ : ११
लेखकबाट थप