तथ्याङ्क र तथ्याङ्कीय साक्षरता सम्बन्धी पुस्तक सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १५ : १७
तथ्याङ्क र तथ्याङ्कीय साक्षरता सम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले तथ्यांक र तथ्यांकीय साक्षरता सम्बन्धी पुस्तक सार्वजनिक गरेकाे छ । राष्ट्रिय योजना आयोगको समन्वयकारी नेतृत्व, विभागका विज्ञहरूको प्राविधिक ज्ञान तथा सीप, द एसिया फाउण्डेसनमार्फत् बेलायती सहयोग नियोगको आर्थिक सहयोगमा विकास उद्यमी (नेपाल इन डाटा) को व्यवस्थापकीय संलग्नतामा पुस्तक तयार गरिएको हाे ।

तथ्याङ्क के हो र कसरी उत्पादन हुन्छ भनेर ठुला ठुला किताबहरू बजारमा उपलब्ध नभएका होइनन् । खासगरी अङ्ग्रेजी भाषामा यसप्रकारका थुप्रै पुस्तकहरू पाउन सकिन्छ । सरल नेपाली भाषामा लेखिएको र आफ्नै कामको प्रकृति, सन्दर्भ र भूगोलसँग सम्बन्धित उदाहरणसहित सजिलै बुझ्न सकिने तथ्याङ्क सम्बन्धी पुस्तकको अभाव अब नरहने विभागले जनाएको छ ।

सार्वजनिक गरिएको पुस्तक तथ्याङ्क र तथ्याङ्कीय साक्षरता एक हिसाबले खुला नापको पुस्तक रहेकाे जनाइएकाे छ । यस पुस्तकलाई तथ्याङ्कशास्त्र भित्रका विभिन्न सैद्धान्तिक र व्यावहारिक विषयवस्तुहरूको आधारभूत ज्ञान कोश बनाउने प्रयास गरिएको विभागले जनाएको  छ । नेपालको तथ्याङ्क प्रणालीको परिचय, संवैधानिक, कानुनी र नीतिगत व्यवस्थादेखि यस पुस्तकमा स्थूल तथ्याङ्क र डिजिटल साक्षरतासम्मका सामग्रीहरू समावेश गरिएका छन् । 

तथ्याङ्क संकलन, प्रशोधन, विश्लेषण, प्रस्तुतिकरण, व्याख्या, वितरण, प्रयोग र भण्डारणसमेतका चरणहरूमा हुने उपयोगी कुराहरूलाई यस पुस्तकले प्रकाश पारेको छ । तथ्याङ्कको स्रोत के हो ? आधिकारिकता के हो ? विधि के हो ? राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यास र मान्यताहरू के हुन् जस्ता प्रश्नहरूको सरल उत्तर यस पुस्तकमा पाउन सकिन्छ ।
 
पुस्तक राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग र विकास उद्यमीसमेतको वेबसाइटबाट निःशुल्क डाउनलोड गर्न सकिने आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस