काठमाडौं । सामाजिक सुरक्षा भत्ता नपाएपछि महोत्तरीको भङ्गहा नगरपालिकाका ज्येष्ठ नागरिकहरू धर्नामा बसेका छन् ।करिव ४/५ महिनादेखि वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले सीतापुर बजारमा नाराबाजी गर्दै धर्नामा बसेका हुन् ।
सामाजिक सुरक्षा भत्ता अपचलनको प्रमुख जिम्मेवार नगरप्रमुख संजीवकुमार साह रहेको भङ्गहा नगरपालिका-९ भीमगढका सूर्यमान विश्वकर्माले आरोप लगाए । उनले नगरप्रमुख साहले आफूहरूको सामाजिक सुरक्षा भत्ता वितरण गर्न कुनै चासोसमेत नदेखाएको आरोप लगाए ।
तीन/चार किस्तादेखि आफूहरूले भत्ता पाउन नसकेको उनको दुखेसो छ । यसमा नगरप्रमुख र बैंकका म्यानेजर दोषी रहेको विश्वकर्माले आरोप लगाए ।
भत्ता नपाएसम्म घर नफर्किने ज्येष्ठ नागरिकको अडान छ ।
यसअघि बुधबार मात्रै नगरप्रमुख संजीवकुमार साहले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै कुमारी बैंकमा ताला लगाएका थिए । उनले बैंकलाई पटक-पटक भत्ता बाँड्न आग्रह गरे पनि कुनै सुनुवाइ नगर्दा आफूले ताला लगाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १५ : ४२
लेखकबाट थप