काठमाडौं । निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायीहरु धर्नामा उत्रिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको अगुवामा निर्माण व्यवसायीहरुले बिहीबार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका हुन्। व्यवसायीहरुले मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउन माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताए।
निर्माणको काम अगाडि बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने उनको भनाइ छ। सरकारले निर्देशिका नल्याएमा 'कन्ट्रक्सन होलिडे'मा जानुपर्ने अवस्था आउने सिंहको भनाइ छ।
‘अहिले बजारमा भएको अप्रत्यासित मुल्यवृद्धिको कारणले गर्दा अहिले निर्माण गर्ने उपयुक्त समयमा पनि हामीले निर्माण कार्यलाई अगाडि बढाउन सकेका छैनौं। मुल्यवृद्धि निर्देशिका भाग–२ जारी नगरीकन निर्माणको गतिविधि अगाडि बढाउन नसक्ने अवस्था छ,' सिंहले भने। सरकारलाई सहयोग गरेर आफूहरु 'कन्ट्रक्सन होलिडे'मा जान पनि तयार रहेको सिंहको भनाइ छ।
'सरकारलाई सहयोग गरेर हामीले कन्ट्रक्शन होलिडेमा जान पनि हामी तयार छौं। र सरकारले अति आवश्यक कामहरु गराउनुपर्छ भने मुल्यवृद्धि निर्देशिका भाग–२ तुरुन्तै जारी गर्नुपर्यो,' सिंहले भने। आफूहरुले धेरैपटक प्रधानमन्त्री, अर्थमन्त्रीसहित सरोकारवाला मन्त्री र अधिकारीहरुलाई भेटेर निर्देशिका जारी गर्न आग्रह गरेको उनले बताए। यसभन्दा अगाडि २०६५ सालमा अत्यधिक रुपमा मुल्यवृद्धि हुँदा मुल्यवृद्धि निर्देशिका भाग –१ जारी गरिएको थियो। अब तुरुन्तै निर्माणको गतिविधि अगाडि बढाउने हो भने नेपाल सरकारले मुल्यवृद्धि निर्देशिका भाग–२ जारी गर्नुपर्छ,' सिंहले भने।
महासंघको अगुवाइमा व्यवसायीहरुले बिहीबार बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका थिए। बिगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले बिरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १४ : २९
लेखकबाट थप