काठमाडौं । नेपाली सेनाको कपिलवस्तुमा तैनाथ शमशेर दल गणमा कार्यरत एक महिला सिपाहीले बुधबार आफैँलाई गोली प्रहार गरेकी छन् । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
बुधबार साँझ करिब ६ः५ बजे गणको डिउटीमा खटिएकी २४ वर्षीया सिपाही कोपिला राजवंशीले आफैँलाई गोली हानेकी थिइन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएअनुसार उनले डिउटीमा बोकेको एम १६ राइफलबाट पेटभन्दा केही माथि दुई राउन्ड गोली प्रहार गरेकी थिइन् र गोलीले पछाडि छेडेको थियो ।
घटनापछि उनलाई उपचारका लागि बुटवलस्थित यूसीएमएस अस्पतालमा लगिएको थियो । उपचारका क्रममा आज बिहान ५ः१७ मा निधन भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
अविवाहित उनी झापाको गौरादह नगरपालिका–१ मा बस्दै आएकी थिइन् । घटनाबारे प्रहरीलाई खबर गरी घटनास्थलको मुचुल्का गरिसकेको प्रवक्ता सिलवालले बताए । उनले भने, “अहिले आफन्तलाई खबर गरिसकेका छौँ । आफन्त अस्पताल पुुग्ने क्रममा छन् । आफन्त आएपछि पोस्टमार्टम र लास परिवारलाई बुझाउने प्रक्रिया हुनेछ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १२ : ५७
लेखकबाट थप