काठमाडौं । सत्ता गठबन्धनको बैठक बुधबार पुनः बस्दैछ । गएराति अबेरसम्म चलेको बैठकले पनि वैशाख ३० गतेको चुनावमा भागबण्डाको विषयमा अन्तिम निर्णय लिन नसकेपछि बुधबार बिहान ११ बजे पुनः बैठक बस्ने भएको हो ।
सत्ता गठबन्धन दलमा विशेषगरी महानगर र उपमहानगरको विषयमा सहमति करिब जुटिसकेको बताइएको छ। अन्य विषयमा पनि सहमति जुटाउन होमवर्क चलिरहेको नेताहरुको भनाइ छ । गठबन्धनभित्र तीन महानगरपालिका र ७ वटा उपमहानगरपालिकामा काँग्रेसले मेयर पाउने मोटामोटी सहमति भएको छ । महानगरपालिका काठमाडौं, ललितपुर र विराटनगर काँग्रेसको भागमा परेको छ ।
यस्तै उपमहानगरमा इटहरी, धरान, कलैया, नेपालगञ्ज, धनगढी, बुटवल र तुल्सीपुरको मेयर पनि काँग्रेसले पाउने सहमति भएको छ । यता महानगरतर्फ माओवादी केन्द्रले भरतपुर तथा एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादीले वीरगञ्ज पाउने भएका छन् । माओवादी, समाजवादी र जसपाले प्रमुख पाएको महानगरमा काँग्रेसले उपमेयर पाउने सहमति भएको पनि काँग्रेसका एक नेताको भनाइ छ ।
यसैगरी काठमाडौँमा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार हुनेछन् । विराटनगरमा जसपाले तथा ललितपुरमा माओवादीले उपमेयर उठाउने गरी सहमति भएको छ । ती नेताका अनुसार समाजवादीले हेटौंडा उपमहानगरपालिका पाउँदा जसपाले जनकपुरधाम पाएको छ । यी बाहेकका दुई उपमहानगरमा माओवादीले पाउने निश्चित भएको छ । बाँकी उपमेयरलगायतका भागबण्डाबारे आगामी छलफलबाट टुंगो लगाइने नेताहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, ०७ : ४९
लेखकबाट थप