काँग्रेसले छाड्यो पोखरा महानगरमा दाबी

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १६ : ३०
काँग्रेसले छाड्यो पोखरा महानगरमा दाबी

काठमाडौं ।नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरुसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो । देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएका थिए । सो क्रममा उनीहरुले पोखराको समग्र अवस्थाका विषयमा सभापतिलाई ब्रिफिङ गरेका थिए ।

तर, देउवाले भागबण्डाका क्रममा समाजवादीलाई पोखरा दिनुपर्ने बाध्यता सुनाएपछि उनीहरु पोखरा छाड्न सहमत भएको बताइएको छ । जिल्ला सभापति बरालले देउवाले बाध्यता सुनाएपछि आफूहरु समाजवादीलाई नै महानगर छाड्ने बुझाइका साथ बालुवाटारबाट बाहिरिएको जानकारी दिए । अहिले महानगर र उपमहानगरको तालमेलको विषयमा अन्तिम निर्णय लिन बालुवाटारमा बैठक जारी छ । सोमबार नै भएको सहमतिअनुसार पोखराबाहेक अन्य महानगरमा भने तालमेलको सहमति जुटेको थियो ।

जसअनुसार वीरगन्ज जसपा तथा भरतपुर माओवादीलाई दिने सहमति भएको थियो । बाँकी ४ महानगर भने काँग्रेसले लिने समझदारी भएको थियो । आज सबै विषयमा अन्तिम रुप दिँदै महानगर तथा उपमहानगरको मेयर उपमेयरमा तालमेलबारे निर्णय लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस