कानुनलाई आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्ति देखियो: सभामुख

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १५ : ४७
कानुनलाई आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्ति देखियो: सभामुख

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन् ।

लुम्बिनी प्रदेशसभाले आज गरेको ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तर्क्रियामा सभामुख सापकोटाले आ–आफ्नो अनुकूलताअनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका हुन् ।उनले कानुन निर्माणमा व्यवस्थापिकाले ध्यान दिनुपर्ने भन्दै व्यवस्थापिका संसद्अन्तर्गत सङ्घीय संसद् र प्रदेश व्यवस्थापिकाका संरचनामा कहाँ त्रुटि छन् भनेर गम्भीरतापूर्वक खोज्ने र त्यसको निष्कर्ष तथा समस्या समाधानका लागि आफू लागिपरेको पनि बताए ।

उनले हाम्रो सार्वभौमसत्ता सम्पन्न संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन ऐतिहासिक भूमिका खेल्न जरुरी रहेको पनि बताए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित नीति निर्माण सल्लाहकार बिन्दा मगर, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलगायतले संसदीय अभ्यासलाई अझ बढी प्रभावकारी र जनमुखी बनाउनुपर्ने बताए ।

आजदेखि सुरू भएको अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखले सङ्घीयता कार्यान्वयनमा पाँचवर्षे अनुभव, चुनौती र सम्भावना विषयमा छलफल गर्ने छन् ।  अन्तर्क्रियामा उठेका विषयहरूलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ ।अन्तर्क्रियामा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस