तीन वर्षमै उप्कियो कालोपत्रे

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १० : २४

काठमाडौं । घोराही उपमहानगरपालिका १५ का भीष्म झाँक्री पेशाले शिक्षक हुन्। उनी हप्तामा २ दिन घोराही–होलेरी सडक खण्ड मार्फत दाङ– रोल्पा आउने जाने गर्छन्। यो सडकमा यात्रा गर्दा एक जोर कपडा झोलामा बोकेर हिँड्छन्। धुलो र हिलोले लगाएको कपडा बाटैमा बिग्रिने भएकाले थप कपडा बोकेर हिँड्नुपर्ने उनको भनाइ छ।‘म हप्तामा २ दिने यो बाटोबाट आउने जाने गर्छु। तर, सडकको अवस्था नाजुक रहेको छ’, उनले भने, ‘सडकको यस्तो अवस्था हुँदा कसैले चासो दिएको छैन।’ उनले दैनिक एक सय भन्दा बढी  टिपर चल्ने कारण सडक बिग्रिएको बताए। 

झाँक्री मात्र नभई दाङबाट रोल्पाको होलेरी हुँदै यात्रा गर्ने सबै नागरिक तथा यातायात चालकले यो समस्या भोग्दै आएका छन्।  तत्कालीन सशस्त्र युद्धको समयमा माओवादीका कार्यकर्ता, लडाकु र स्थानीयवासीले मिलेर ट्रयाक खोलेको घोराही–होलेरी सडक शान्ति सम्झौतापछि शहीद मार्गको रुपमा मान्यता पायो। त्यसपछि सरकार घोराहीबाट रोल्पाको होलेरी, रुकुम हुँदै डोल्पा जोड्ने लक्ष्य राखेर यो सडकको स्तरोन्नति सुरु गरेको थियो। घोराही–होलेरी सडक खण्ड तीन वर्ष अगाडि मात्रै कालोपत्रे भएको थियो। तर अहिले कालोपत्रे खोज्नुपर्ने अवस्थामा पुगेको छ भने सडक जीर्ण भएको हुँदा यात्रा गर्न जोखिम रहेको छ। 

रोल्पा माडीचौरकी राधा पुनले यो सडकबाट यात्रा गर्दा धेरै डर लाग्ने गरेको बताइन्। ‘छोटो भएका कारण यो सडकबाट यात्रा गर्छौँ’, उनले भनिन्, ‘तर, सडक निकै जीर्ण छ । त्यसैमा पनि हिलो र धुलोले साह्रै सास्ती हुन्छ ।’ तीन वर्ष पहिले कालोपत्रे भएको सडक अहिले धुलाम्मे र हिलाम्य भएको छ। त्यस्तै अर्का यात्रुले होमबहादुर ऐरले पनि सडक निर्माण गुणस्तरहीन हुँदा र क्षमता भन्दा बढी लोड बोक्ने गाडीका कारण सडकको यस्तो अवस्था आएको बताए। 

यात्रुहरू मात्र नभई सडक वरपरका बासिन्दाले पनि समस्या भोग्दै आएका छन्। दाङ ल्हापेका दिलबहादुर पुनले सडकमा गाडी हिँड्दा धुलो उडाएर घरभित्र पुग्ने गरेको बताए। उनले सडकमा धुलो र खाल्टाखुल्टीले गर्दा पानी परेको समयमा पनि उस्तै समस्या हुने गरेको बताए। सडकका कारण धेरै समस्या भोगेका छौँ’, उनले भने, ‘धुलो उडेर घरभित्र पस्छ।’ 

दाङको घोराहीदेखि रोल्पाको होलेरी बजारको दूरी ३१.५ किलोमिटरको हो । सामान्य अवस्थामा ४५ मिनेटमा आउजाउ हुने यो सडक खण्डमा अहिले करिब २ घण्टा लाग्छ।  दाङ घोराही उपमहानगरपालिका १८ का विकास केसि चालक हुन् । उनले दाङदेखि रोल्पाको होलेरी गाडी चलाउन लागेको करिब १४ वर्ष भयो। तर, उनले सडक पक्की भएको करिब ६ महिना जति राम्रोसँग गाडी चलाएको बताए। उनले निर्माण भएको छोटो समयमा सडक फेरि पुरानै अवस्थामा पुगेको भन्दै धुलो, हिलोका कारण धेरै सास्ती भोग्दै आएको बताए । 

त्यस्तै रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाका अनुसार सडक अत्यन्त जीर्ण हुँदा सबैले सास्ती भोग्दै आएका छन्। यो सडकमा खानीबाट धेरै टिपर चल्दा जीर्ण बनेको उनको भनाइ छ। संघीय सरकार मातहत रहेको यो सडकको मुद्दा सर्वाेच्च अदालतमा मुद्दा चलिरहेकाले त्यो किनारा नलाग्दासम्म अगाडि बढ्न नसक्ने उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस