काठमाडौं । कर्णाली प्रदेश सरकार र सूर्य तारा सिमेन्ट उद्योगका सञ्चालकहरु बीच सुर्खेतमा सिमेन्ट उद्योग स्थापना गर्ने बिषयमा छलफल भएको छ।
आज बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा सिमेन्ट उद्योग सञ्चालन गर्न आवश्यक सहजीकरण र भावी योजनाका बारेमा प्रदेश सरकारलाई सूर्य तारा सिमेन्ट उद्योगले आग्रह गरेकाे छ।मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताए।
उनले खानी र उद्योगसम्म सडक तथा पानी पुर्याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने जानकारी दिए।‘बाह्य लगानी नआउँदासम्म कर्णालीको विकास हुँदैन्,’ छलफलमा मुख्यमन्त्री शाहीले भने, 'बाह्य लगानी भित्र्याउन प्रदेश सरकार आवश्यक सहजीकरण र समन्वय गर्न तयार छ।’ उनले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा छुटको व्यवस्था पनि गर्ने पनि बताए।
झण्डै १५ अर्ब रुपैयाँ बराबरको लगानीमा सञ्चालन हुन लागेको उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्नेछ। यसका लागि उद्योगले चौकुनेमा आवश्यक जग्गा खरिद प्रक्रिया टुङ्ग्याएको छ।सूर्य तारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्द प्रसाद तिमिल्सिनाले उद्योगका लागि जग्गा प्राप्ति भइसकेको र पहुँच मार्ग निर्माण र संरचना निर्माण कार्य प्रक्रियामा रहेको बताए।
उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब, २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ। बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुन ढुंगा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ विगाह जमिन खरिद गरेको छ।उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, १६ : ५९
लेखकबाट थप