नवलपरासीमा छात्रा दुर्व्यवहार प्रकरण : किटानी जाहेरीको तयारी

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १५ : ५९
नवलपरासीमा छात्रा दुर्व्यवहार प्रकरण : किटानी जाहेरीको तयारी

काठमाडौं । नवलपरासीको गैँडाकोट– ५ स्थित जनक माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनामा पीडित पक्षले किटानी जाहेरी  दिन लागेका छन् ।विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर जबर्जस्ती गर्न खोजेको घटना हिजो बाहिर आएको थियो । सोही विषयमा भएको विवादका क्रममा आक्रोशित विद्यार्थीले तोडफोड नै गरेका थिए । घटनाका विषयमा आज भने पीडित पक्षले शिक्षक विरुद्ध किटानी जाहेरी दिने तयारी गरेको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी सन्तोष पाठकले पीडित पक्षले आज किटानी जाहेरी दिन लागेको बताए । उनकाअनुसार आइतबार नै प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । उनले आरोपितमाथि अनुसन्धान भइरहेको बताए ।

हिजो भएको तनावका क्रममा इलाका प्रहरी कार्यालय गैँडाकोट प्रहरी निरीक्षक सहित १० जना प्रहरी समेत घाइते भएका थिए । घटना केही दिनअघि भएपनि हिजो विद्यार्थीहरुले थाहा पाएपछि कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो । प्रधानाध्यापकले विद्यालयभित्रै घटना मिलाउन खोजेपछि विद्यार्थी आक्रोशित हुँदै नाराबाजी गरेको भिडियो सार्वजनिक भएको थियो । 

प्रतिक्रिया दिनुहोस