सीएनआई प्रतिनिधिमण्डल अर्थमन्त्रालयमा

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, ११ : ३५
सीएनआई प्रतिनिधिमण्डल अर्थमन्त्रालयमा

काठमाडौं ।  नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो।

भेटमा उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिँदै विदेशी मुद्राको सञ्चितिमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए। 

उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताए। नेपालको कुल ग्राहस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कुल ग्राहस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको कार्यपत्रमा उल्लेख छ।त्यस्तै नेपालको बास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको, जिडिपीमा बास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको, कूल बैदेशिक मुद्रा संचितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख थियो।  त्यस्तै अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्र मार्फत जानकारी दिइएको थियो।

अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य–मख्य सूचकाङ्कमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरे मजबुत रहेको अग्रवालले बताए। सो अवसरमा सीएनआई अध्यक्ष बिष्णुकुमार अग्रवालले बिदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्न आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिए। उनले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरकफरक बनाउनुपर्ने सुझावसमेत दिएका थिए।न्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै उनले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिए। सुनमा आधारित ऋणपत्र जारी गर्नुपर्ने, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिनुपर्ने, गैरआवासीय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायत सुझावसमेत उनले दिए।

सो अवसरमा अर्थमन्त्री शर्माले पनि श्रीलंकासँग नेपालको तुलनै नहुने कुरा आफूले बारम्बार भन्दै आएको बताए। ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन्। चुनावी मुद्दा पनि बनाएका छन्,’ मन्त्री शर्माले भने, ‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं।’ 
 

प्रतिक्रिया दिनुहोस