चितवन काँग्रेसका सभापति खनाल भन्छन्– चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, १६ : १०
चितवन काँग्रेसका सभापति खनाल भन्छन्– चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र) लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए । 

शुक्रबार चितवन आएका काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र) लाई छाड्ने गरी तालमेल हुने बताएका थिए । सिंहको भनाइले जिल्लामा पुनः तरंग ल्याएको छ । 
भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि काँग्रेसले पाउनुपर्ने खनालले दोहोर्याए । 

‘काँग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौँ । म काँग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निष्कर्षमा पुग्ने हो । जुन निकायले निर्णय गर्ने हो भोलि नतिजा अनुकूल वा प्रतिकुल हुँदा पनि त्यो निकायले पूर्ण रुपमा जिम्मा लिनुपर्छ,’ उनले भने । 

चितवन काँग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराईसकिएको उनले बताए । नजिता सकरात्मक आउने तरिका यो हो भनेर चितवन काँग्रेसले सघन छलफल गरेर केन्द्रीय समितिलाई लिखित प्रतिवेदन बुझाइसकेको भन्दै उनले एकात्मक खालको अवसरबाट गठबन्धनलाई स्थायित्व दिन नसकिने र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस