काठमाडौं । मोरङमा चार दलीय गठबन्धन बनाएर स्थानीय निर्वाचनमा जाने सम्भावना क्षीण बन्दै गएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी सम्मिलित कार्यदलको बैठक निरन्तर बस्दै आएको छ। सबै दलले आफ्नो दाबी नछाडेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन।
कार्यदलमा रहेका नेपाली कांग्रेसका जिल्ला उपसभापति भक्तिनाथ माझीले बैठक निरन्तर बसिरहेको भएपनि समस्या निराकरणको लागि सम्भावना कम हुँदै गएको बताएका छन्। कार्यदलले पाएको म्यान्डेडअनुसार अघि बढ्न चाहेर पनि नसकिएको बताएका माझीले सबै दलले आ–आफ्नो हठ नछाड्दा समस्या भएको बताए।अघिल्लो निर्वाचनमा मोरङका १७ पालिकामध्ये ११ स्थानमा कांग्रेसले जित हात पारेको बताउँदै त्यसमा तालमेल हुन नसक्ने कांग्रेसले जनाउँदै आएको छ।
उपसभापति माझीले भने, ‘मोरङको १७ मध्ये ११ वटा पालिकामा कांग्रेस जितेको हुँदा सो स्थानमा पाउनु पर्नेछ। ती क्षेत्रमा मताधिकार, संगठनात्मक संरचना, पकड कांग्रेसको रहेको छ। प्रष्ट जितेको स्थानमा कांग्रेसले दाबी गर्नु स्वभाविक छ। यसबाहेक अन्य स्थानमा तालमेल हुनुपर्छ। वडा तह रहेको छ। त्यँहा अघि बढ्न सकिन्छ।’अर्कोतर्फ, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले १७ पालिकामा प्रमुख/उपप्रमुख गरी बाँडफाँट गर्नुपर्नेमा जोड दिए। उनले जितेको स्थान भन्दा पनि संगठन र विस्तारका आधारमा बाँडफाँट हुनुपर्ने बताए।
अघिल्लो निर्वाचनमा मोरङको जहँदा गाँउपालिकामा जित हासिल गरेको जसपाले यसपटक तालमेलका क्रममा थप चार स्थान सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाँउपालिका र कटहरी गाँउपालिका माग गरेको उनले बताए।यादवले भने, ‘विगतको भन्दा यी स्थानमा जसपाको पकड र संगठनात्मक संरचना बलियो छ। हामीले टोलदेखि वडासम्म संगठन गरेको छौँ। त्यस आधारमा पनि यी पाँच स्थानमा हाम्रो दाबी हो।’
आवश्यक स्थानमा तालमेलका लागि गत चैत्र ३० गते चार दलीय कार्यदल गठन भएको थियो।कार्यदलको बैठक शनिबार अपराह्न पनि बस्ने बताएका जसपाका अध्यक्ष यादवले बैठकबाट निष्कर्ष नआए जिल्लातहको मूल समितिलाई विषय जिम्मा लगाउने जानकारी दिए।
यता, कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बूले कांग्रेसले जित हासिल गरेको स्थानमा तालमेलको सम्भावना नहुने बताए। सभापति लिम्बूले भने, ‘विराटनगर महानगरपालिकामा कांग्रेस जित हासिल गरेको हुँदा त्यँहा गठबन्धनको रुपमा तालमेल बार्गेन गर्नु कति उचित होला? यस्तो स्थानमा कांग्रेस आफै निर्वाचनमा होमिन सक्षम रहेको छ।’
एकातिर कार्यदलको बैठक, अर्कातिर विरोध
दलीय गठबन्धनको आवश्यकता नरहेको जनाँउदै नेपाली कांग्रेसका कार्यकर्ता विराटनगरस्थित जिल्ला पार्टी कार्यालयमा शनिबार धर्नामा बसेका छन्।
शनिबार विराटनगरस्थित जिल्ला पार्टी कार्यालयको प्राङ्गणमा विराटनगर–६ का स्थानीय युवा तथा कार्यकर्ता महानगरमा कांग्रेस एक्लै निर्वाचनमा भिड्नु पर्नेमा जोड दिँदै धर्नामा बसेका हुन्।
धर्नामा बसेका कांग्रेस वडा नम्बर ६ का सचिव प्रकाश मण्डलले स्थानीय तहमा कुनै पनि दलसँग कांग्रेसले तालमेल गर्नु आवश्यक नभएको बताए। अन्य जिल्लाबारे भन्दा पनि महानगरका वडाभित्र कांग्रेसको पकड बलियो रहेको जनाउँदै उनीहरु दबाबमूलक धर्नामा बसेको मण्डलले बताए।
त्यसैगरि, सोही वडाका युवा नेता अक्षय सहनी गठबन्धनले कांग्रेसलाई कमजोर बनाउने बताँउछन्। उनीहरुले शुक्रबार पार्टी सभापतिलाई समेत गठबन्धन नगर्नका लागि ज्ञापनपत्र बुझाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, १५ : ५७
लेखकबाट थप