कैलालीमा भागबण्डा नमिल्दा सकसमा गठबन्धन

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, १४ : ३३
कैलालीमा भागबण्डा नमिल्दा सकसमा गठबन्धन

  काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन् । 

कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी स्थानीय तहमा उम्मेदवारको भागबण्डा मिलाउन पटक–पटक बैठक बसेको हो । तर, हालसम्म भागबण्डामा कुरा मिलेको छैन । गठबन्धनका दलले आ–आफ्नै दाबी बैठकमा प्रस्तुत गरिसकेका छन् । 

दलहरूले आ–आफ्नो दाबी नछोड्दा पालिका तहको प्रमुख उपप्रमुखमा भागबण्डा गर्न सकस भइरहेको हो । गठबन्धन दलबीच औपचारिक अनौपचारिक रुपमा पटकपटक बैठक छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ । 

जिल्लामा यसअघिको निर्वाचनमा विजयी भएकाबाहेक चार तहमा नेपाली कांग्रेस र चार तहमा नेकपा माओवादी केन्द्रले प्रमुखमा दाबी गरेको छ । एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले पाँच पालिकाको प्रमुखमा दाबी गरेको छ । कतिपय दलले आफ्नो हैसियतभन्दा बढी पालिका प्रमुखमा दाबी गर्दा सहमति जुटाउन समस्या भएको नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले बताए । 

उनले भने, 'नेकपा (माओवादी केन्द्र)को दाबी जायज देखिए पनि नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा बढी दाबी गर्दा समस्या भइरहेको छ ।'नेकपा माओवादी केन्द्रका नेता रमेश धामीले गठबन्धन दलका बीच निरन्तर बैठक छलफल भइरहेको भए पनि आजसम्म सहमति जुट्न नसकेको बताए । 

'सकभर तालमेल गरेर चुनामा होमिन्छौँ,' नेकपा (माओवादी केन्द्र)का नेता रमेश धामीले भने, 'तालमेल हुन नसके गठबन्धन दलबीच नै स्वास्थ्य प्रतिस्पर्धा गर्छौं, गठबन्धन बाहिरका दलसँग तालमेल गर्दैनौँ ।' उनले गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पालिकाको प्रमुख, उपप्रमुखमा नभई वडाध्यक्ष र सदस्य पदमा दाबी गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस