काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बेरुजु फर्स्याैटमा उत्कृष्टता हासिल हुने गरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् ।सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको बिदाइमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्ताे आह्वान गरेका हुन्।गृहमन्त्री खाँणले बेरुजु फर्स्याैटमा गम्भीर हुन र सबै आयव्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए ।
उनले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको पनि बताए । गृहमन्त्री खाँणले भने, ‘नेपाल सरकारका समग्र विभागहरूलाई बेरुजु फर्स्याैटमा गम्भीर हुन, बजेटलाई नियमसम्मत रूपमा खर्च गर्न र हरहिसाब दुरुस्त राख्नका साथै बेरुजु फर्स्याैटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु । हामीकहाँ बजेट बनाउँदाखेरी पहिलो त्यो घाटाको बजेट बनाएकै हुन्छौं । चालू खर्च चाँहि बढेर जान्छ । पूँजीगत खर्च चाँहि हामीले गर्न सक्दैनौं । पूँजीगत खर्चतर्फ पनि हामी जिम्मेवार हुन जरुरी छ । किनकि भौतिक विकासले जनतालाई सबल बनाउँछ । विकास, निर्माणको प्रतिफल जनतामा पुर्याउँछ । त्यसकारणले गर्दाखेरी हामीले भौतिक क्षेत्रमा गरिने खर्चलाई पनि हामीले व्यवस्थित गर्न जरुरी छ । खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था नआओस् ।’
गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले बेरुजु फर्स्याैट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंसा समेत गरे ।कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भए पनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ चैत्र २०७८, १५ : २७
लेखकबाट थप