बन्दुकधारीद्वारा नाइजेरियामा १४ जनाको हत्या

मंगलबार, ०१ जेठ २०७५, १६ : ४३
बन्दुकधारीद्वारा नाइजेरियामा १४ जनाको हत्या

लागोस, नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा लुटेराको एक सशस्त्र समूहले सोमबार राति गरेको आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् । लुटेराको समूहले मारू ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउँलेहरूको सम्पत्तिसमेत लुटेर लगेको बताइएको छ ।

स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारीअनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँलेहरू ज्यान जोगाउन भागेका थिए ।

“आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थल सामान्य अवस्थामा आएको छ”, गुसाउमा सोमबार बिहान गरिएको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले भन्नुभयो । सो क्षेत्रमा यसअघि पनि गत महिना यस्तै हतियारधारीको समूहले गरेको आक्रमणमा परी ३० जना निर्दाेष गाउँले मारिएको पनि प्रहरी प्रमुखले जानकारी दिनुभयो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस