काठमाडौं।पाँच वर्षका लागि तोकिएको अवधि पूरा हुनै लाग्दा स्थानीय तहहरूले कार्य अवधिमा गरेका काम जनतासामु लैजान थालेका छन्।देशमा संघीयता लागू भएसँगै बनेका स्थानीय तहमध्ये कतिपयले पाँच वर्षको अवधिलाई सिकाइको रूपमा लिए त कतिले नागरिकले महसुस गर्ने गरी परिवर्तन गराउन पनि सफल भए।
पाँचवर्षे कार्यकाल पूरा गर्नै लागेको जिल्लाको फलेवास नगरपालिकाले पाँच वर्षको उपलब्धि सहितको श्वेतपत्र जारी गर्दै उत्कृष्ट एक सय उपलब्धि जनताको माझमा लगेको छ।नगरपालिकाका प्रमुख पदमपाणि शर्माले नेपाल नगरपालिका संघबाट उत्कृष्ट भएर पुरस्कृत समेत भएको नगरपालिकामा दर्जनौँ राम्रा अभ्यास र विकास निर्माणका कामहरू गरिएको र ती कामलाई नै श्वेतपत्रमा समावेश गरिएको बताए।
‘नगरपालिकाले जारी गरेको श्वेतपत्रमा नगर विकास गुरुयोजना निर्माण, नगर विकास योजना निर्माण, नगरको विकासका लागि गौरव तथा रूपान्तरण गर्ने योजना कार्यान्वयनका कुरा पनि समावेश गरिएको छ,’ उनले भने, ‘भौतिक विकास, पूर्वाधार निर्माण, सामाजिक विकास, पर्यावरण संरक्षण तथा संस्थागत र सुशासनका क्षेत्रमा गरिएका प्रयासहरूलाई समावेश गरिएको छ।’
फलेवास नगरपालिकामा शहरीकरण नभइसकेको र विगतमा ११ वटा गाउँ विकास समितिलाई मिलाएर घोषणा भएका कारण धेरै पूर्वाधार तथा विकास निर्माणका काम हुन नसकेको अवस्था रहेको थियो। पाँच वर्षको अवधिमा नागरिकले परिवर्तनको महसुस गर्ने गरी काम गरेर देखाउनुपर्ने चुनौती आफूहरूसँग रहेको र त्यसलाई गरेर पनि देखाएको नगरप्रमुख शर्माको दाबी छ।
महत्त्वपूर्ण उपलब्धिका रूपमा कालीगण्डकी जलाशयमुक्त आयोजनाका लागि निरन्तर प्रयास र लबिङ, पोखरा–कार्कीनेटा –खानीगाउँ हुँदै बागलुङको जैमनी–गलकोट जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको काम, पोखरा–लुम्ले–अन्नपूर्ण पदमार्गको पर्यटकीय लाभ लिन सक्ने गरी योजना, मनमोहन शान्ति वाटिका तथा खुम होमस्टे प्रवर्द्धन, फलेवासको बहुआयामिक विकासका लागि ग्रिन फलेवास, क्लिन फलेवास अभियान, क्लिन हाउस, ग्रिन हाउस, क्लिन क्लिन स्कुल, क्लिन रोड, ग्रिन रोड, ग्रिन रोड क्लिन टोल ग्रिन टोल अभियानलाई लिइएको छ।
फलेवासमा ४१२ किलोमिटर नयाँ सडकको ट्र्याक खनिएको छ। नगरपालिकाले आफ्नै २ वटा डोजरमार्फत निरन्तर सडक सफा गर्ने, ट्र्याक खोल्नेदेखि स्तरोन्नतिका काम गर्दै आएको छ। बाहिरी, भित्री चक्रपथ, लिङ्क रोड बनाउने काम पनि यो अवधिमा भएको नगरपालिकाले जनाएको छ। स्वास्थ्य सेवा, शिक्षा, उद्योगबाट रोजगार सृजना लगायतका नमुना काम पनि गरेको छ। फलेवासले नगरभित्रका ५० वर्ष देखि ७० वर्ष सम्मका एकल पुरुष र महिलालाई मासिक भत्ता वितरण गर्दै आएको छ। श्रमिकलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्दै ५ सय नगरपालिकाले थप्ने र ५ सय थपेर भविष्यमा पेन्सन सुविधा दिने काम पनि सुरु गरेको छ।
नगरप्रमुख शर्माले आफूहरू निर्वाचित भएर आएपछि फलेवासमा हरेक क्षेत्रमा उत्कृष्ट बनाउन सफल भएको दाबी गर्छन्। फलेवासले नगरपालिका संघबाट वित्तीय व्यवस्थापन तथा सुशासनका क्षेत्रमा उत्कृष्ट बनेर पुरस्कृत भएको छ भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता मूल्याङ्कनमा गण्डकी प्रदेशका ८१ वटा स्थानीय तह मध्ये फलेवास उत्कृष्ट भएको छ। वित्तीय जोखिम निरीक्षणका क्रममा फलेवासले ८७.७ अंक हासिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १३ : ४७
लेखकबाट थप