काठमाडौं ।गत शुक्रवार थाइल्याण्डमा टायर पञ्चर भएर थन्किएको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ६ दिनपछि काठमाडौं आएको छ ।
थाइल्याण्डबाट उड्ने क्रममा २ वटा टायर पड्किएको जहाज मर्मतमा ढिलाइ भएको अवस्थामा घटनाको सत्यतथ्य अध्ययन गर्न निगमले ७ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।निगमका प्रवक्ता अर्चना खड्काका अनुसार घटनालाई अध्ययन, अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निगम व्यवस्थापनले क्वालिटी एसुरेन्स डिपार्टमेन्टका निर्देशकको संयोजकत्वमा छानबिन समिति बनाएको छ । समितिले काम शुरू गरिसकेको निगमले जानकारी दिएको छ ।
निगमको आरए ४०२ उडानको न्यारोबडी जहाज बैंकक काठमाडौं उड्न खोज्दा सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा पांग्रामा प्राविधिक समस्या देखिएको जनाइएको छ । पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकेर यात्रु तथा कार्गो निकालेर प्राविधिक चेकजाँच गरिएको थियो ।
जहाजलाई थाई एयरवेजका प्राविधिक टोलीले निरीक्षण गरेपछि ४ वटै पांग्रा फेर्नुपर्ने सुझाव दिएको थियो । सुझावअनुसार आवश्यक पांग्रा कतार एयरवेजको विमानमार्फत निगमले नै पठाएर जहाजको पांग्रा मर्मत गरिएको थियो । रद्द गरिएको उडानका १४१ यात्रुलाई निगमको नियमित उडानबाट ४ अप्रिल २०२२ मा काठमाडौं ल्याइएको पनि निगमले जानकारी दिएको छ ।मर्मत सम्पन्न भएको न्यारोबडी विमान निगमको नियमित उडानको रूपमा बुधवार काठमाडौं अवतरण भएको पनि निगमले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ चैत्र २०७८, १२ : १६
लेखकबाट थप