स्वच्छ पानीका लागि डिपिआर तयार गरिने : खानेपानीमन्त्री

शनिबार, २९ बैशाख २०७५, १४ : ३५
स्वच्छ पानीका लागि डिपिआर तयार गरिने : खानेपानीमन्त्री

ललितपुर । श्रीमहालक्ष्मी नगरपालिका ८ स्थित लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, तल्लोदोभान खानेपानी आयोजनाको दोस्रो वार्षिक साधारणसभाले रु तीन करोड नौ लाख ७९ हजार बराबरको आय व्यय विवरण पारित गरेको छ ।
तत्कालीन अर्थमन्त्री एवं वर्तमान उर्जामन्त्री वर्षमान पुनले दुई लाख लिटर क्षमताको रिजर्भ ट्यांकी शिलान्यास गर्नुभएसँगै शुरु गरिएको सो आयोजनाबाट हालसम्म एक हजार १६ घरधुरीमा निजी धारा र केही सार्वजनिक धारा सञ्चालन गरी दश हजार जनतालाई शुद्ध खानेपानी सुविधा प्रदान गर्र्दै आएको छ ।

सो आयोजनाका लागि दुई वटा इन्टेक, एक सेडिमेन्टेशन ट्यांकी, एक ट्युब सेटलर, एक स्लो स्याण्ड फिल्टर, तीनवटा रिजर्भ ट्यांकी र एक ओभरहेड ट्यांकी र कार्यालय भवन निर्माण गर्नुका साथै थप पानीका लागि डिपबोरिङ समेत गरिसकिएको छ ।

यसअघि उक्त साधारणसभाको शुभारम्भ गर्दै खानेपानी मन्त्री बिना मगरले स्वच्छ खानेपानी पाउनु जनताको अधिकार भएकाले यसका लागि मन्त्रालयका तर्फबाट आफूले सक्दो पहल गर्ने जानकारी दिँदै स्वच्छ पानी वितरणका लागि सम्भाव्यता अध्ययनका साथै डिपिआर तयार गर्न लगाउने बताउनुभयो ।
उक्त नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले देशमा पानीको प्रचूर सम्भावना भएर पनि त्यसको समुचित प्रयोग गर्न नसकिएको चर्चा गर्दै रोशी खोलाको पानी ल्याउन सरकारसंग माग गर्नुभयो । कोषाध्यक्ष सानुकान्छा श्रेष्ठले आफ्ना दिवंगत छोरा कविराज श्रेष्ठको सम्झनामा उक्त आयोजनाले डिपबोरिङका लागि खरिद गरेको नौ आना जग्गामध्ये एक आना जग्गाको लागि रू दश लाख प्रदान गर्नुभएकोमा उहाँलाई सम्मान गरिएको थियो ।

सो साधारण सभाले आगामी कार्यकालका लागि ई रामबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मीसिंह महर्जन, सचिवमा महेन्द्रदेव श्रेष्ठ, सहसचिवमा नन्दलाल श्रेष्ठ, कोषाध्यक्षमा सानुकान्छा श्रेष्ठ तथा सदस्यमा हरिकृष्ण सिंह, वासुदेवकुमार श्रेष्ठ, निरोज महर्जन, राजन श्रेष्ठ, देवी श्रेष्ठ, र रीतादेवी श्रेष्ठ रहनुभएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस