खैरहनी माध्यमिक विद्यालयमा रेडक्रससँग सम्बन्धीत युवाहरुको भेला

शुक्रबार, २८ बैशाख २०७५, १५ : ११
खैरहनी माध्यमिक विद्यालयमा  रेडक्रससँग सम्बन्धीत युवाहरुको भेला

चितवन । चितवन जिल्लामा रहेका जुनियर तथा युवा रेडक्रस सर्कलका व्यक्तिहरु पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा भेला भएका छन् । रेडक्रसको सिद्धान्तबारे जानकारी दिन र मानवीय भावनाको विकास गराउनका लागि रेडक्रससँग सम्बन्धीत युवाहरुलाई भेला गराइएको हो ।

कार्यक्रममा प्रदेश ३ का भूमि , कृषि सहकारी तथा गरिबी निवारण मन्त्री दावादोर्जे लामाले रेडक्रसले खेलेको भूमिका प्रसंशनीय भएकोले सबैले रेडक्रसका सिद्धान्तहरुलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । रेडक्रसकाले देखाएको बाटोबाट अगाडि बढ्ने हो भने हाम्रो भविष्य सुन्दर हुने लामाको भनाइ थियो । रेडक्रसको लागि गर्नुपर्ने सहयोग गर्न आफ्नो मन्त्रालय सधैँ तयार रहेको मन्त्री लामाले प्रतिवद्धता जनाउनुभयो ।

उक्त गोष्ठीमा शिक्षक नायक, जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलका गरि जिल्लाका पाँच सय जना भन्दा बढी सहभागी छन् । सहभागीहरुलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका वरिष्ठ अधिकृत जगन्नाथ न्यौपाने, वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झा, रेडक्रसकर्मीहरु नेत्रबन्धु पोखरेल, रत्नप्रसाद सापकोटा, शारदा शर्मा पौडेल, बोधनारायण श्रेष्ठ, डाक्टर माधव घिमिरेले प्रशिक्षण दिनुहुनेछ । शिक्षक नायक र विद्यार्थीहरुलाई छुट्टाछुट्टै स्थानमा राखेर दुई दिनसम्म प्रशिक्षण दिइने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका वरिष्ठ अधिकृत जगन्नाथ न्यौपानेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री हरिप्रसाद पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै चितवनमा दुई सय ४७ वटा जुनियर रेडक्रस सर्कल र १७ वटा युवा रेडक्रस सर्कल रहेको जानकारी दिनुभयो । शुक्रबार सुरु भएको गोष्ठीमा प्रत्येक जुनियर रेडक्रस र युवा रेडक्रस सर्कलबाट दुई जना विद्यार्थी तथा एक जना शिक्षक नायक सहभागी भएका छन् । उक्त गोष्ठीको उद्घाटनका क्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झा, खैरहनी माविका प्रधानान्यापक भरतप्रसाद पोखरेल, पञ्चकन्या माविका शिक्षक नायक सम्झना भट्टलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ रन्ननगरले जुनियर रेडक्रस सर्कल खैरहनी माध्यमिक विद्यालयको लाग आवश्यक शैक्षिक सामग्री समेत प्रदान गरेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन र खैरहनी माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार सुरु भएको गोष्ठी शनिबारसम्म सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस