संवैधानिक इजलासमा ५३ जना पदाधिकारीविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ०४ चैत्र २०७८, ११ : ५४
संवैधानिक इजलासमा ५३ जना पदाधिकारीविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ  । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर नियुक्त गरेका ५३ जना पदाधिकारीविरुद्ध परेको मुद्दाको सुनुवाइ सुरु हुने भएको छ।

सर्वोच्चको संवैधानिक इजलासको आजको दैनिक पेशीमा उक्त मुद्दाको सुनुवाइ तोकिएको हो।संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित वरिष्ठ न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।

गएको शुक्रबार संवैधानिक इजलासले ६ वटा मुद्दामा सुनुवाइ गर्दै ‘कारण देखाउ’ आदेश जारी गरेको थियो। सोहीअनुसार आजको इजलासले अध्यादेशमार्फत नियुक्त गरिएका ५३ जना पदाधिकारीहरुको मुद्दा सम्बन्धमा निर्णय आउने बुझिएको छ।केपी ओली सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईलगायतका अन्य संवैधानिक निकायमा ५३ जना पदाधिकारी नियुक्त गरेको थियो।

तत्कालीन प्रम ओलीले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको समेत भागबन्डामा ती पदाधिकारीहरु नियुक्त गरेका थिए। जसले गर्दा राणाकै पालामा उक्त मुद्दा परे पनि सुनुवाइ हुन सकेको थिएन।

राणामाथि महाअभियोग लागेपछि कायममुकायम प्रधानन्यायाधीश भएका कार्कीले संवैधानिक इजलास गठन गरी अन्य मुद्दाको समेत सुनुवाइ अघि बढाएका छन्। उक्त मुद्दासम्बन्धमा ११ वटा रिट परेका छन्। 

प्रतिक्रिया दिनुहोस