रुसी हमला तत्काल रोक्न आइसीजेकाे आदेश

एजेन्सी

विहीबार, ०३ चैत्र २०७८, १३ : २८
रुसी हमला तत्काल रोक्न आइसीजेकाे आदेश

हेग । राष्ट्रसंघको अन्तराष्ट्रिय न्यायालय (आइसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ । युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको भन्दै अदालतले जनाएको छ । त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसीभाषीविरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ ।

अदालतका १५ जना मध्ये १३ न्यायाधीशहरुले युक्रेनमा २४ फेब्रुवरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन् । रुसी र चिनियाँ न्यायाधीशहरुले मात्र आदेशको विपक्षमा मतदान गरे । 

न्यायाधीशहरूले विवादलाई बढावा दिने वा फैलाउन सक्ने कुनै पनि कार्यबाट टाढा रहन युक्रेन र रसियालाई आदेश दिएका छन् । आफ्नो निर्णयमा अदालतले युक्रेनमा रूसको आक्रमणलाई अमेरिका र नेटोले जस्तो ‘युद्ध’ भनेर उल्लेख गरेको छैन । 

फैसलापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्धको मुद्दामा पूर्ण जित हाँसिल गरेको छ । ’ रुसले सो फैसला मान्नै पर्ने उनले बताए । ‘फैसला बेवास्ता गरेमा रुस थप एक्लिन सक्छ ’, उनले भने ।  

सो फैसला धेरै हदसम्म प्रतिकात्मक हुन सक्छ । रूसी प्रतिनिधिहरू गत साता सुनुवाइमा देखा परेका थिएनन् । हेगस्थित  अन्तर्राष्ट्रिय फौजदारी अदालतका उच्च अभियोजनकर्ताले मार्चको सुरुमा युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्ने घोषणा गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस