बेमौसमी काँक्राबाट मनग्य आम्दानी गर्दै किसान

विहीबार, २७ बैशाख २०७५, १४ : ३०
बेमौसमी काँक्राबाट मनग्य आम्दानी गर्दै किसान

डडेल्धुरा ।  जिल्लाका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन् । चाहेको  मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् ।

तराईमा भन्दा यहाँको काँक्रो स्वादिष्ट हुने भएकाले माग बढ्दै गएको छ । बेमौसमी काँक्राबाट तीन महिनाको अवधिमा रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी हुने गरेको अमरगढी–२ का पार्वतीदेवी बोहराले बताउनुभयो ।

“किसानले कम्तीमा रु ३० हजारभन्दा बढी आम्दानी गर्दैआएका छन्, व्यावसायिक रुपमा काँक्रा लगाउनेको संख्या बढ्दै गएको छ,” उहाँले भन्नुभयो । अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु र पर्शुराम नगरपालिकाको चिस्यान कम हुने क्षेत्रमा किसानले बेमौसमी काँक्रा खेती गर्न थालेका छन् ।

आजभोलि यहाँका किसान अन्य काम छोडेर पनि काँक्रा खेती गर्न थालेका छन् । काँक्रा बिक्री गर्न बजारको समस्या छैन । किसानले प्रतिकिलो काँक्रा रु २० देखि रु ३० सम्ममा बिक्री गर्ने गरेका छन् । अहिले बजारमा काँक्रा प्रतिकिलो रु ४० मा बिक्री गरिरहेको बसपार्कका व्यापारी पदमबहादुर सार्की बताउनुहुन्छ ।

सरकारी तथा गैरसरकारी संघसंस्थाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि बेमौसमी काँक्रा खेती गर्ने किसानको संख्यामा वृद्धि हुँदै गइरहेको अमरगढी कृषि विकास शाखाका अधिकृत टेकबहादुर बिष्टले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस