बजार नबुुझ्दा फाइदा लिन सक्दैनन् किसान

विहीबार, २७ बैशाख २०७५, १४ : १८
बजार नबुुझ्दा फाइदा लिन सक्दैनन् किसान

ललितपुर । बजारको मागअनुसार उत्पादन दिन नसक्दा किसानले तरकारीखेतीबाट पर्याप्त आम्दानी लिन सकेका छैनन् । नेपाल कृषि अनुसन्धान परिसद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशी अधिकांश किसानलाई बजारको ज्ञान नभएको बताउनुहुन्छ ।

परम्परागत रुपमा खेती गर्दै आएका किसान बजारको मागअनुसारको फलाउने भन्दा पनि आफूसँग जे फलेको छ त्यही बजारमा बिक्रीका लागि लैजाने गर्छन् । उहाँ भन्नुहुन्छ, “बजारमा माग नै नभएको कुरा लैजाँदा त्यो बिक्दैन वा कम मूल्यमा बिक्छ ।”

तरकारीको माग ठूला शहरमा मात्रै नभएर भर्खरै नगरपालिका बनेका नयाँ शहरमा समेत छ । कुन ठाउँमा कुन तरकारीको आवश्यकता छ त्यही फलाउँदामात्रै किसानले पर्याप्त आम्दानी लिन सक्ने जोशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजारको आवश्यकताअनुसार फलाउँदा किसानले थोरै समयमा धेरै आम्दानी लिन सक्छन् ।”

विदेश बसेर आएका वा नेपालमा नै अध्ययन सकेर व्यावसायिक तरकारी खेतीमा लागेका युवा किसानको संख्या बढ्दै छ । उनीहरुले आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो लगानीमा धेरै क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन् । उहाँ भन्नुहुन्छ, “हामीले हेर्दा ठूलो क्षेत्रफलमा र प्रविधिको प्रयोग गर्ने किसानले बढी फाइदा लिइरहेका छन् ।” विशेष गरेर काठमाडौँ उपत्यका र त्यस आसपासका जिल्लामा व्यावसायिक तरकारीखेती गर्नेको संख्या बढ्दैगएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस