सरकारले चाहे तत्काल जयनगर-कुर्था रेल्वे सञ्चालन गर्छौं : महाप्रबन्धक झा

सफल खबर संवाददाता

बुधबार, २५ फागुन २०७८, १५ : ४४
सरकारले चाहे तत्काल जयनगर-कुर्था रेल्वे सञ्चालन गर्छौं : महाप्रबन्धक झा

काठमाडौं । नेपाल रेल्वे कम्पनीले जयनगर–कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्नसक्ने जनाएको छ । जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन ।

तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताए ।बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा महाप्रबन्धक झाले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए ।

कम्पनीले रेल सञ्चालनको लागि भाडा निर्धारण तथा कानून समेत बनाएको बताउँदै उनले रेल चल्न सुरु भएसँगै यात्रुलाई आवागमनामा सहज हुने बताए ।महाप्रबन्धक झाले कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनको लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।

रेल दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको हो । खरीद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको रेलको गत पुसमा परीक्षण गरेर राखिएको छ ।

अहिले पनि रेल जनकपुरमै त्रिपालमुनी थन्किएर बसेको छ । रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भए पनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन ।

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आम नागरिकको चासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस