बी डिभिजन लिगका १४ खेलमा ५० गोल

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १४ : २९
बी डिभिजन लिगका १४ खेलमा ५० गोल

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग जारी छ। एन्फाले यसपटक बी डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमै सन्चालन गर्ने भएको छ । 

१४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल भइरहेका छन् । एन्फाले १८ फागुनबाट सुरु गरेको लिगको १४ खेल समाप्त भइसकेका छन् । सम्पूर्ण टिमले दुई(दुई खेल खेलेसँगै आज लिगलाई विश्राम दिइएको छ । लिगका ७७ खेल बाँकी रहँदा ५० गोल पूरा भएका छन् । औसतमा प्रत्येक खेलमा ३ दशमलव ५७ गोल भएका छन् । 

जारी लिगमा चर्च ब्वाइज युनाइटेड र टुसाल युथ क्लब तथा मध्यपुर युथ एसोसिएसन र सामाजिक युथ क्लबबीच सर्वाधिक ७(७ गोल भएका छन् । दुबै खेलमा ५(२ अन्तरका टुंगिएको थियो । जारी लिगमा बाँसबारी क्लब र टुसाल युथ क्लबीचको खेल मात्र गोलरहित बराबरीमा टुंगिएको छ । 

दुई चरणको खेल सकिँदा चर्च ब्वाइजले सर्वाधिक ७ गोल गरेको छ भने मध्यपुर युथ एसोसिएसन, श्रीकुमारी क्लब तथा सामाजिक युथ क्लबले ५(५ गोल गरेका छन् । जारी लिगमा दुई खेलमा सतप्रतिशत जित निकालेका चर्च ब्वाइज युनाइटेड र श्रीभगवती क्लब समान ६ अंक भए पनि गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

चार अंकको सरस्वती युथ क्लब तेस्रो स्थानमा छ । यस्तै, समान तीन अंक भए पनि मध्यपुर, खुमलर युथ क्लब, रानीपोखरी कर्नर टिम आरसिटी, ब्वाईज युनियन क्लब क्रमशः चौथोदेखि सातौं स्थानमा छन् । यस्तै, नयाँबस्ती युथ क्लब र श्रीकुमारीको समान दुई अंक रहेको छ र क्रमशः आठौं र नवौं स्थानमा छन् । यता, समान एक अंकका विरगंज युनाइटेड, झम्सिखेल युथ क्लब, बाँसबारी क्लब, सामाजिक युथ क्लब र टुसाल युथ क्लब क्रमशः १० औं देखि १४ औं स्थानसम्म छन् । 

सामाजिक युथ र टुसाल भने रेलिगेसन क्षेत्रमा छन् । लिगका शीर्ष दुई क्लब ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन लिगमा घटुवा हुनेछन् ।  

प्रतिक्रिया दिनुहोस