मिथिला मध्यमा परिक्रमामा सहभागी भारतीय महिलाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १३ : १९
मिथिला मध्यमा परिक्रमामा सहभागी भारतीय महिलाको मृत्यु

काठमाडौं ।  मिथिला मध्यमा परिक्रमाको क्रममा एक भारतीय महिलाको मृत्यु भएको छ। परिक्रमाको क्रममा पदयात्रा गरेर जलेश्वर पडावस्थल पुगेकी परिक्रमा यात्री भारतको विहारको मधुवनी जिल्ला बासोपट्टीका राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमिलादेवी साहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले महोत्तरीकै मठिहानी पडावस्थलबाट जलेश्वर पुगेकी महिला जलेश्वर नगरपालिका( २ स्थित पोखरीमा नुहाउने क्रममा रिंगटा लागेर बेहोस भएकी थिइन्।

बेहोस भएकी साहलाई उपचारको लागि जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता विष्टले बताए।

शवलाई पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मिथिलाको महाकुम्भको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा बिहीबारबाट सुरु भएको हो। जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ।

नेपालकै लामो १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरु पुग्ने गर्छन्। नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको यात्रा गर्नेछ। यसमा नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरु पदयात्रा गर्छन्।  

प्रतिक्रिया दिनुहोस