पाँच दिनपछि फर्काइयो अस्पतालमा थुनिएको भालु

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १२ : २९
पाँच दिनपछि फर्काइयो  अस्पतालमा थुनिएको भालु

काठमाडौं । जिल्ला अस्पताल ताप्लेजुङको प्रसूति कक्षमा थुनिएको भालुलाई पाँच दिनपछि सोमवार सुरक्षित वासस्थानमा फर्काइएको छ। प्रसूति कक्षबाट चार दिनपछि उद्धार गरी डिभिजन वन कार्यालयमा लगेर फलामे खोरमा राखिएको थियो।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत गत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले भालुलाई लठ्याउन सुइ लगाएर अस्पतालबाट डिभिवन वन कार्यालय परिसर पुर्‍याएको थियो।

तीन प्रकारका औषधि मिश्रण गरी भालुलाई बेहोस बनाएर अस्पतालबाट डिभिजन वन कार्यालय लैजान सफल भएको रिजालले बताए। प्रविधिकका अनुसार वयस्क भालु करिब ७० किलोग्राम तौल र पाँच फिट लम्बाइको रहेको छ। बेहोस अवस्थामा रहेको भालु पुनः साविककै प्रक्रियामा फर्कन करिब एक घण्टा समय लाग्ने भएको र त्यसपछि उसको व्यवहार र प्रस्तुतिका आधारमा थप निर्णय लिने राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्र चितवनबाट आएको टोलीले जनाएको छ।

गत बिहीवार बेलुकी अचानक अस्पताल परिसर प्रवेश गरेको भालुलाई अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसूति कक्षको खाली कोठामा थुन्न सफल भएका थियो। डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सबडिभिजन कार्यालयमा वन्यजन्तु विशेषज्ञ नभएको अवस्थामा चितवनबाट प्राविधिक झिकाइएको थियो।  

प्रतिक्रिया दिनुहोस