पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरसम्म जोडिँदै

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, १३ : ००
पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरसम्म जोडिँदै

काठमाडौं । पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका ७ वटा ठूला शहरसम्म विस्तार भएको छ ।

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई ७ वटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिबार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ । बुद्धले साताको तीनदिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ ।

बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा ३ दिन (शनिबार, सोमबार र बुधबार) उडान गर्ने जानकारी दिए । यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको उनको भनाइ छ । बुद्धले १८ सिट क्षमताको जहाजबाट उडान सुरु गरेको छ ।

बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो । पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रुपैयाँ भाडा तोकिएको छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बताए ।

प्रतिक्रिया दिनुहोस