चितवन काँग्रेस सभापतिमा पराजित भएपछि डा.घिमिरेको प्रतिक्रिया : 'पहिलो चरणमा सर्वाधिक मत पाएका राजेश्वर खनाललाई समर्थन गर्छु'

सफल खबर संवाददाता

शनिबार, २१ फागुन २०७८, १० : १३
चितवन काँग्रेस सभापतिमा पराजित भएपछि डा.घिमिरेको प्रतिक्रिया : 'पहिलो चरणमा सर्वाधिक मत पाएका राजेश्वर खनाललाई समर्थन गर्छु'

चितवन । काँग्रेस चितवनको सभापतिको प्रत्याशी भएर पहिलो चरणमा चुनावमा होमिएर पराजित भएका डा.प्रा.सुर्यकान्त घिमिरेले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले जित हार हुनु स्वभाविक रहेको बताएका छन् । 

पराजय पछि सामाजिक संजालमा प्रतिक्रिया व्यक्त गर्दै उनले पहिलो चरणको चुनावमा सर्वाधिक मत ल्याएका राजेश्वर खनाललाई अब आफ्नो समर्थन रहने पनि उल्लेख गरेका छन् । पार्टी भित्रको आन्तरिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हुने भएकाले यसलाई विजय र पराजयको रुपमा कसैले पनि लिन नहुने उनको तर्क छ । 

उनले भनेका छन्, 'प्रथम चरणमा सर्वाधिक मत प्राप्त भएको हुँदा प्रतिनिधी साथीहरुको भावना र अभिमतलाई सम्मान गर्दै बिना शर्त मेरा समर्थन राजेश्वर खनाललाई रहेकोले सहयोगको लागि अपिल गर्दछु ।' शुक्रबार सम्पन्न पहिलो चरणको मतदानबाट राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका छन् । यस्तै उनका निकटतम प्रतिद्धन्द्धी मिलनबाबु श्रेष्ठले दोस्रो धेरै ६६२ मत ल्याएका छन् ।

सभापतिका अन्य दाबेदार उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र डा. सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । १०१ मत बदर भएको छ । कुल मतदाता २ हजार ९ सय ४५ रहेपनि गए मतदानमा २ हजार ८ सय २० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस