मेलम्ची खानेपानी – टनेलभित्रको माटो निकाल्न थालियो

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १५ : ३३
मेलम्ची खानेपानी – टनेलभित्रको माटो निकाल्न थालियो

काठमाडौं  । चिनियाँ कम्पनी सिनो हाइड्रोले बाढीबाट क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथान टनेल सफा गर्न थालेको छ। आयोजनाका अनुसार दुई दिन अघिबाट बाहिरको गेग्य्रान, ठूला ढुंगा विस्फोट गरी टनेल सफा गर्न लागिएको हो।

आयोजना प्रमुख वासुदेव पौडेलले भने, ‘ठूला ढुंगा विस्फोट गरेर बल्ल अम्बाथानको टनेल पुगेका छौँ। करिब ३५ मिटर उक्त टनेलबाट माटो निकालेका छौँ।’ उनले कति माटोले टनेल पुरेको छ भन्ने अझै भन्न नसकिने बताए।

‘पूरै माटोले टनेल पुरिएको छ, खन्दै जाँदा मात्रै कति किमि माटोले पुरियो भन्ने थाहा हुन्छ’, उनले भने।उनका अनुसार आयोजनाको १ नम्बर गेटको टनेलको अझै सफा गर्न बाँकी छ। उनले भने, ‘त्यो गेटमा पनि ठूला ठूला ढुंगा निस्किएपछि काम गर्न समस्या भएको छ, ढुंगा विस्फोट गर्ने काम भने भइरहेको छ।’

उनका अनुसार अम्बाथान टनेलको काम सकिएपछि १ नम्बर गेटअन्तर्गतको टनेलको माटो निकालिनेछ। आयोजना शुरु भएको दुई दशकपछि गत चैत १५ देखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण गर्न थालिएको थियो। 

पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो।यसैबीच गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुगेपछि यतिखेर उपत्यकामा पानी आउन सकेको छैन। जसकारण उपत्यकामा खानेपानीको समस्या भएको छ। 

सरकारले पहिलो चरणमा मर्मत गर्न ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी वैशाखसम्म अस्थायी रूपमा मेलम्ची खानेपानी उपत्यकामा ल्याउने सरकारको योजना छ। 

प्रतिक्रिया दिनुहोस