धोबीघाटको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १४ : ०३
धोबीघाटको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

काठमाडौं  । उपत्यका खानेपानी लिमिटेड केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुरको धोबीघाटको दुईमध्ये एउटा फोहोर पानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।

आयोजनाले शुक्रबार  प्रेस विज्ञप्ति जारी गरी उक्त केन्द्रमा फोहोर पानी प्रशोधनका लागि अत्याधुनिक उपकरण जडान गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो। 

आयोजना उपनिर्देशक एवं प्रवक्ता लोकेन्द्रप्रसाद यादवले केन्द्रबाट फोहोर पानी प्रशोधनको परीक्षण आगामी साउन महिनाभित्र शुरु गर्ने कार्यक्रम रहेको बताए। उनका अनुसार दुवै फोहोर पानी प्रशोधन केन्द्रको क्षमता दैनिक ३ करोड ७० लाख लिटर रहेको छ।

कोड्कु ९बालकुमारी० मा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको क्षमता दैनिक १ करोड ७५ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने रहेको छ।
त्यस्तै भक्तपुरको सल्लाघारीमा पनि प्रतिदिन १ करोड ४२ लाख लिटर प्रशोधन क्षमता भएको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य जारी रहेको उनले बताए।

गुह्येश्वरीमा निर्माण सम्पन्न भएको दैनिक ३ करोड २४ लाख लिटर क्षमताको फोहोर पानी प्रशोधन केन्द्र हाल सञ्चालनमा रहेको उनको भनाइ छ। ‘निर्माणाधीन केन्द्रहरूको कुल क्षमता प्रतिदिन १० करोड ५७ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने छ’, उनले भने। 

यी नदीमा मिसाइनेछ प्रशोधित पानी

आयोजनाका अनुसार गुह्येश्वरीको प्रशोधन केन्द्रबाट फोहोर पानी प्रशोधन गरी बागमती नदीमा प्रवाह भइरहेको छ भने सल्लाघारी प्रशोधन केन्द्रबाट फोहोर पानी प्रशोधन गरी हनुमन्ते नदीमा, कोड्कु ९बालकुमारी० केन्द्रबाट मनोहरा नदीमा र धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा प्रवाह गरिनेछ।

त्यस्तै गोकर्णमा ३० लाख लिटर क्षमता र हनुमानघाटमा १० लाख लिटर क्षमताका फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माणका लागि समेत आवश्यक प्रक्रिया अगाडि बढाइएको आयोजनाका प्रवक्ता यादवले जानकारी दिए। 

सन् २०३० सम्म दैनिक करिब ४९ करोड लिटर फोहोर पानी उत्सर्जन हुने 

आयोजनाका प्रवक्ता यादवले थप प्रशोधन केन्द्र बनाउनुपर्ने आवश्यक रहेको बताए। उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको मर्मतपछि भित्रिने दैनिक १७ करोड लिटर,याङ्ग्री र लार्के खोलाबाट दैनिकरूपमा भित्रिने १७ करोड लिटर गरी कुल ५१ करोड लिटर तथा स्थानीय स्रोतबाट उत्पादित खानेपानी प्रयोगपछि झण्डै ८० प्रतिशत फोहोर पानीका रूपमा विसर्जन हुन्छ। 

सन् २०३० सम्म काठमाडौं उपत्यकामा बढ्ने जनसंख्या र बढ्दो खानेपानीको मागका आधारमा प्रतिदिन करिब ४९ करोड लिटर फोहोर पानी उत्सर्जन हुने अनुमान गरिएको उनले बताए। उनका अनुसार हाल उपत्यकामा दैनिक रूपमा करिब २३ करोड लिटर फोहोर पानी उत्सर्जन हुने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस