मधेशमा कांग्रेस अधिवेशन – पर्सामा संस्थापन पक्षको प्यानल नै विजयी,

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १३ : ४९
मधेशमा कांग्रेस अधिवेशन – पर्सामा संस्थापन पक्षको प्यानल नै विजयी,

 काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पर्सा जिल्ला सभापतिमा संस्थापन पक्षका उम्मेदवार जनार्दन सिंह क्षेत्रीको प्यानल विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी श्याम पटेल समूहलाई पराजित गर्दै सभापतिमा क्षेत्रीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए । 

सभापतिमा क्षेत्रीले १ हजार ११० मत पाउँदा पटेलले ६४५ मत मात्रै ल्याएका हुन् । त्यस्तै, उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका छन् । 

कुर्मीले १ हजार २३५ र गुप्ताले १ हजार १०२ मत प्राप्त गरेका हुन् । यस्तै, सचिवमा इम्तियाज आलमले १ हजार १८७ र दिनेशकुमार चौधरीले १ हजार १५९ मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी, नवीन सिंहले १ हजार २५३ र मदन राउत अहिरले १ हजार १११ मत प्राप्त गरी सह–सचिवमा विजयी भएका छन् । त्यस्तै, धनुषा जिल्ला अधिवेशनको लागि पनि बिहीबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । कांग्रेस धनुषा हाँक्ने गरी जिल्लामा ३ जना प्रभावशाली नेताले सभापतिमा उम्मेदवारी दिएका छन् । 

सभापति पदका लागि ३ जनाले मनोनयन दर्ता गराएका हुन् । संस्थापन पक्षबाट एक जना र संस्थापन इतरबाट २ जनाले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापतिसमेत रहेका सन्तोष यादवले सभापति पदमा मनोनयन दर्ता गराएका छन् भने संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका योगेन्द्र पजियार र संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् । 

पजियार विमलेन्द्र निधि गुटका हुन् भने प्रसैला शेखर कोइरालानिकट चिनिन्छन् । त्यस्तै, उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि गणेशप्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा धानुक, सुरेन्द्र प्रसाद चौधरी मुन्ना, गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर शर्मा धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दीपेन्द्रकुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।

सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो। साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।

उता, महोत्तरीमा पनि जिल्ला सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा नागेश्वर यादव, बजरंग नेपाली र सुशील यादवले उम्मेदवारी लिएका छन् । त्यहाँ आज निर्वाचन भईरहेको छ । 

सिरहामा भने कांग्रेसको जिल्ला अधिवेशन अन्योल बनेको छ । त्यहाँ आज हुने भनिएको निर्वाचन आन्तरिक विवादका कारण हुन नसकेको हो । सिरहामा सभापतिका लागि संस्थापन पक्षबाटै रामचन्द्र यादव र रामसुन्दर चौधरीले उम्मेदवारी दर्ता गर्ने भएपछि विवाद उत्पन्न भएको छ । 

सप्तरीमा शुक्रबार निर्वाचन हुँदैछ । सप्तरीमा सभापतिका लागि दुईजनाले उम्मेदवारी दिएका छन् । देउवा पक्षबाट शत्रुधनप्रसाद यादव र कोइराला पक्षबाट रामदेव साहले सभापतिमा उम्मेदवारी दिएका हुन् । 

त्यस्तै, सर्लाही कांग्रेसको जिल्ला अधिवेशन आजबाट सुरु हुने भएको छ । आसन्न जिल्ला अधिवेशनमा सभापतिका लागि दुईजनाले उम्मेदवारी घोषणा गरेका छन् । शेखर कोइराला प्यानलबाट पूर्वसभापति लक्ष्मण राय र संस्थापन पक्षबाट बहालवाला उपसभापति सुरेन्द्रप्रसाद सिंहले सभापतिका लागि उम्मेदवारी दिएका हुन् ।

यसैगरी, रौतहटमा भोलि चुनाव हुँदैछ । रौतहट कांग्रेस सभापतिका लागि सुनील यादव जितेन्द्रले देउवा पक्षबाट र हृदयनारायण यादवले कोइराला पक्षबाट उम्मेदवारी दिएका छन् ।  

बारामा पनि भोलि चुनाव हुँदैछ । बारा जिल्लामा सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन् । त्यहाँ संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिएका छन् भने कोइराला पक्षबाट रामानन्दप्रसाद यादवले उम्मेदवारी दिएका छन् ।   

प्रतिक्रिया दिनुहोस