गलेश्वरधाममा एकै दिन साढे तीन लाख रूपैयाँ भेटी संकलन

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १२ : २६
गलेश्वरधाममा एकै दिन साढे तीन लाख रूपैयाँ भेटी संकलन

काठमाडौं ।  बेनी नगरपालिका(९ मा रहेको गलेश्वरधाममा एकै दिन ३० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन्।

महाशिवरात्रिको दिन मन्दिरमा दर्शन र पूजाआजाका लागि आएका भक्तजनबाट तीन लाख ५३ हजार ८७ रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्रविकास कोषकी कोषाध्यक्ष बालकुमारी रोकाले जानकारी दिइन्। मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा कोषका पदाधिकारी, कर्मचारी‚ गलेश्वर आमा समूह, प्रहरी र स्थानीयबासीको उपस्थितिमा बुधवार सार्वजनिक गरिएको रोकाले बताइन्।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले कोरोनापछि भक्तजनको संख्या बढेकाले अघिल्ला वर्षको शिवरात्रिको तुलनमा झण्डै एक लाख बढी संकलन भएको बताए। संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ। दान संकलन गर्ने क्रममा छिटफुट भेटीलाई समेत हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ। ठूला पर्वमा भोलिपल्टै र नियमित रुपमा महिनाको दुईपटक गन्ने गरिएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण गत वर्ष सामान्य पूजा भएकोमा यसपटक महाशिवरात्रि पर्वको अवसरमा भक्तजनको भीड बढेको हो। शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बाग्लुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु आएका थिए।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा ११ वटा गौमुखी धारा जडान भएको छ। गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको गलेश्वर शिवालय क्षेत्र विका कोषले जनाएको छ।   

प्रतिक्रिया दिनुहोस