माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै टोलमा दिनहुँ अघोषित लोडसेडिङ

बुधबार, २६ बैशाख २०७५, १२ : ४७
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै  टोलमा दिनहुँ अघोषित लोडसेडिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ छैन भने पनि व्यवस्थापकीय काममा ध्यान दिन नसक्दा राजधानीमा दैनिक अघोषित रुपमा लोडसेडिङ हुँदै आएको छ। 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बसेको टोल ललितपुरको खुमलटार–१५ का बासिन्दाले समेत दैनिक रुपमा अघोषित रुपमा लोडसेडिङ भइरहेको भन्दै गुनसो गरेका छन् । ‘हाम्रै टोलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत निवास रहेको छ  । प्राधिकरणले लोडसेडिङ छैन भन्दा पनि दिनहुँ अघोषित रुपमा लोडसेडिङ हुन्छ ।’ यसरी लोडसेडिङ भइरहँदा प्रचण्डले यसबारे पहल गर्नुपर्ने ललितपुर महानगरपालिका वडा नम्बर १६ का सुकबहादुर रावलको गुनासो छ । एक महिनायता दैनिक साँझको समयमा एक घण्टा जति लोडसेडिङ हुने गरेको उनले बताए ।

प्रचण्डकै टोलमा बस्ने सानुकान्छा महर्जनले पनि आफूहरु अनियमित विद्युत आपूर्तिले हैरान भएको बताए । ‘कि लोडसेडिङ छ भनेर भनिदिनु पर्यो हैन भने यसरी  अनियमित बिद्युत आपूर्ति हुँदा हामीले सास्ती भोग्नु परेको छ ।’ उनले भने ।
एक महिनादेखि दिनहुँ लोडसेडिङ भइरहेको भन्दै उनले यसमा प्रचण्डले पनि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।  ‘गठबन्धनको सरकार छ, त्यसपछि आफ्नै पार्टीका नेता ऊर्जामन्त्री छन् यसो हुँदा पनि प्रचण्डले कुनै पहल नगर्नु अचम्मलाग्दो छ’ उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस