इन्धनको मूल्य फेरि बढ्ने संकेत

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १३ : ३०
इन्धनको मूल्य फेरि बढ्ने संकेत

काठमाडौं । रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव आफूहरुले पनि भोग्नु परेको नेपाल आयल निगमले जनाएको छ ।

बढेको कच्चा तेलको मूल्यका कारण मंगलबार भारतीय आयल कर्पोरेसन आईओसी बाट ग्याँस, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेर प्राप्त भएको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।


डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चाररचार रुपैयाँ र खाना पाकाउने ग्याँसमा प्रति सिलिण्डर एक सय रुपैयाँले बढेर नयाँ मूल्य आएको उनले बताए ।

‘बढेको मूल्यका कारण निगम १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा जाने देखियो, हामी मूल्य बढाउनु पर्ने दबाबमा पर्‍यौं,’ भट्टराईले भने, ‘नयाँ मूल्य नबढाए र आईओसीलाई इन्धनको पैसा तिर्न निगम एक्लैले नसक्ने अवस्था बन्यो ।’

१५ दिन अगाडिको मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा निगमलाई प्रतिलिटर क्रमशः १६ रुपैयाँ ५९ पैसा र १२ रुपैयाँ ५८ पैसा घाटा रहेकोमा अब त्यस्तो घाटा बढेर क्रमशः लिटरमा २० रुपैयाँ ५२ पैसा र १६ रुपैयाँ ८ पैसा पुगेको भट्टराईको भनाइ छ ।

यस्तै खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर घाटा ५६५ रुपैयाँबाट बढेर ६६५ रुपैयाँ पुगेको पनि उनले दाबी गरे ।

मंगलबार प्राप्त नयाँ मूल्यपछि निगमको नियमित बिक्रीबाट आईसीको रकम भुक्तानी हुन नसक्ने अवस्था आएको निगमको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस