भारतसँग ढुक्क हुन सक्ने अवस्था अझै बनेको छैन : नेता श्रेष्ठ

मंगलबार, २५ बैशाख २०७५, १७ : १४
भारतसँग ढुक्क हुन सक्ने अवस्था अझै बनेको छैन : नेता श्रेष्ठ

काठमाडौं । पूर्वपरराष्ट्र मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपालका प्रधानमन्त्री भारत जाने र भारतीय प्रधानमन्त्री नेपाल आउँदैमा भारतसँग ढुक्क हुन सक्ने अवस्था अझै नबनेको बताउनु भएको छ । उहाँले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुग्यो भन्ने कुरामा आफू सहमत हुन नसक्ने समेत बताउनु भयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा उहाँले यस्तो बताउनु भएको हो । नेपाली जनताले नाकाबन्दी त्यति सजिलै बिर्सन नसक्ने भन्दै उहाँले अगाडि भन्नुभयो, ‘त्यो नाकाबन्दी खाली आर्थिकमात्र थिएन, नेपाली जनताले ६५ वर्षको संघर्षपछि आफ्नो संविधान आफैंले बनाउने प्रक्रियामा भारतको नांगो हस्तक्षेप पनि थियो । अब सम्बन्ध सकारात्मक दिशातर्फ जान्छ भने त्यसलाई सम्झिराख्न वा नकारात्मक रुपमा हेरिराख्न आवश्यक छैन ।’
नेपाल–भारत समस्या समाधान भइसक्यो वा सम्बन्ध नयाँ उचाइमा पुग्ने आधार तयार भइसक्यो भन्ने बेला नभएको उहाँले प्रष्ट पार्नुभयो । दुई देशबीचका थुप्रै समस्याहरुलाई कसरी समाधान गरिन्छ भन्ने हेर्न बाँकी नै रहेको उहाँको विचार छ । भारतले परम्परागतरुपमा जुन दृष्टिकोण राख्दै आएको छ र जुन नीति लिँदै आएको छ, त्यो नीतिमा परिर्वतन साँच्चै भएको हो कि होइन भन्ने प्रष्ट नभएको उहाँले बताउनु भयो । नेपाल र भारतको असल सम्वन्धका लागि भारतको त्यो दृष्टिकोणमा नै परिर्वतन आवश्यक रहेको नेता श्रेष्ठको भनाइ छ ।
‘हामी धेरै पटक ठगिएका छौं, धेरै पटक यस्ता भनाइहरुबाट धोका पाइसकेका छौं । त्यसको अर्थ प्रधानमन्त्री झुक्नुभयो भन्ने पनि होइन । तर, नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुग्यो भन्ने पनि सही होइन’ उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता र हितको पक्षमा काम भयो भने भारत साँच्चै सुध्रियो भन्ने ठाउँ रहन्छ । यो देखिएको छैन । तर, प्रधानमन्त्री ओलीजीको भ्रमणमा जसरी छलफल भयो र विज्ञप्ति आयो, त्यसले बिग्रियो भन्नु पर्ने ठाउँ पनि छैन ।’

 

प्रतिक्रिया दिनुहोस